
काठमाडौं, चैत १४ । सामान्य प्रशासन मन्त्रालयले सिंहदरबारभित्र कार्यरत सबै निजामती कर्मचारीलाई अनिवार्य तोकिएको पोसाक लगाउनुपर्ने प्रावधान कार्यान्वयनलाई कडा तुल्याएको छ ।
मन्त्रालयले कार्यालय प्रवेशका समयमा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका तीन वटै द्वारमा निजामती कर्मचारीले अनिवार्य रुपमा तोकिएको पोसाक लगाउनुपर्ने आचारसंहिता पालन भए नभएको अनुगमन गर्न उपसचिवको नेतृत्वमा कर्मचारी खटाएको छ ।
निजामती कर्मचारीलाई सरकारले पोसाकबापत वार्षिक रुपमा रु सात हजार ५०० भत्ता प्रदान गर्दै आएको छ । व्यवस्थापिका– संसद्, सुशासन तथा अनुगमन समितिको आजको बैठकमा वैदेशिक रोजगार विभाग र यातायात व्यवस्था कार्यालयमा कार्यरत ८० प्रतिशत कर्मचारीले तोकिएको पोसाक नलगाउने गरेको सामान्य प्रशासनमन्त्री रेखा शर्माले अनुगमनबाट देखिएको जानकारी दिए ।
खासगरी सेवाग्राहीको भिडभाड हुने कार्यालयका कर्मचारीले तोकिएको पोसाक लगाएर नआउँदा बिचौलिया र कर्मचारीको पहिचान हुन कठिनाइ हुने गरेकोे बताउँदै सचिव टङ्कमणि शर्माले निजामती सेवामा रहेका कर्मचारीलाई जिम्मेवार तथा जवाफदेही बनाउन पोसाक अनुगमन सुरु गरिएको जानकारी दिए ।
पछिल्लो पटक मन्त्रालयले दुई दिन गरेको अनुगमनका क्रममा तोकिएको पोसाक लगाएर नआएका करिब ५४५ जनालाई सिंहदरबारको प्रवेशद्वारबाटै फर्काइएको छ ।
