
काठमाडौँ, २४ चैत-
मन्त्रिपरिषद्ले थप नयाँ नगरपालिका घोषणा गर्ने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रस्तावलाई फर्काइदिएको छ ।
स्थानीय विकास मन्त्रालयले आवश्यक मापदण्ड र पूर्वाधार पुगेका ३४ वटा थप नयाँ नगरपालिका घोषणाका लागि सबै विधि र प्रक्रिया पूरा गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।
सरकारले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित तथा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाङ्कन निर्धारण गर्न पूर्वसचिव बालानन्द पौडेलको अध्यक्षतामा नौ सदस्यीय आयोग गठन गर्ने निर्णयसँगै नगरपालिका घोषणा गर्ने कार्य स्थगन भएको हो ।
नेपालको संविधानमा संविधान घोषणा भएको छ महिनाभित्रै उक्त आयोग गठन गर्ने व्यवस्था भएअनुरुप सरकारले यही चैत १ गते आयोग गठन गरेको थियो ।
यसअघि स्थानीय विकास मन्त्रालयले गत माघमा नगरपालिकाका लागि मापदण्ड पूरा गरेका गाविसलाई फागुन ६ गतेभित्र निवेदन दिन सार्वजनिक सूचना जारी गरेको थियो ।
सूचनाअनुसार ४७ वटा थप नयाँ नगरपालिका घोषणाका लागि अनुरोध भई आएकामा आवश्यक पूर्वाधार र मापदण्ड पूरा गरेका ३४ वटा प्रस्तावलाई मन्त्रालयले अघि बढाएको थियो ।
आयोग गठन गरेपछि नगरपालिका घोषणासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट अघि नबढेको स्थानीय विकास मन्त्रालय नगरपालिका व्यवस्थापन महाशाखाका उपसचिव चिरञ्जीवी तिमिल्सिनाले जानकारी दिनुभयो ।
पछिल्लो समय नयाँ नगरपालिका घोषणाका लागि स्थानीय विकास मन्त्रालयलाई चर्काे राजनीतिक दबाब परिरहेको थियो । पछिल्लो तीन वर्षयता मात्रै सरकारले पहिलो चरणमा ७२, दोस्रो चरणमा ६१ र तेस्रो चरणमा २६ गरी १५९ नयाँ नगरपालिका थपिसकेको छ ।
अहिले मुलुकमा एक महानगरपालिका, १२ उपमहानगरपालिकासहित २१७ नगरपालिका कायम रहेका छन् ।
