आज नयाँ वर्ष विक्रम सम्वत २०७३, देशभर शुभकामना आदानप्रदान सहित मनाइदै

Share:

पोखरा १ वैशाख ।
आज विक्रम संवत् दुई हजार त्रिहत्तर (२०७३) वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन हो ।

प्रत्येक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्सङ्कल्प गर्ने गर्दछन् ।

आजका दिन बिहानै स्नान गर्ने, घर, कोठा–आगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने प्रचलन रहेको छ । विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवम् इतिहासकार प्रा डा दिनेशराज पन्त मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विसं चलेको बताए । उनले भने – ‘नेपालमा मात्र मौलिकरुपमा यो संवत् चल्छ, भारतमा सरकारी संवत शक संवत भएपनि व्यवहारमा इस्वी संवत चलेको छ ।’

वि.सं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको उनको भनाई रहेको छ । यी संवतमध्ये अहिले मानदेव संवतको चलन हराइसकेको छ । विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विसंको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको पनि इतिहासकार पन्तले बताए ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन छ । नयाँ वर्षका दिन स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास पनि रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: