
काठमाडौँ, २ वैशाख-
सर्वोच्च अदालतको इतिहासमा पहिलो महिला कामु प्रधानन्यायाधीशका रुपमा आजदेखि सुशीला कार्कीले जिम्मेवारी सम्हालेकी छिन् ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गत चैत ३० गतेबाट उमेर हदका कारण अवकाश लिएपछि वरिष्ठतम न्यायाधीशको हैसियतले कार्कीले कामु प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेकी हुन् ।
उनले आजैदेखि मुद्दाको इजलास तोक्ने लगायत न्यायिक तथा प्रशासनिक कामको नेतृत्व सुरु गरेकी छिन् ।
संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि गत चैत २८ गते सिफारिस गरेकामा संसदीय सुुनुवाइ समिति नभएकाले कार्कीको संसदीय सुनुवाइ भएको छैन ।
संवैधानिक व्यवस्थानुसार प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश र संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने हुन्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने व्यवस्था छ ।
