
लमजुङ, १३ बैशाख-
लमजुङमा क्रियाशील ठाडो भाका लोककला प्रतिष्ठानको पहिलो अधिवेशनबाट नवराज पहाडीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।
लमजुङको पहिचान बनेको ठाडो भाकालगायतका लोक संस्कृतिको संरक्षण गर्ने मूल उद्देश्यसहित क्रियाशील प्रतिष्ठानको ३ कार्यकालका लागि तदर्थ समितिका अध्यक्षसमेत पहाडीलाई पुनः नेतृत्व गर्ने अवसर प्रदान गरेको हो ।
प्रतिष्ठानका वरिष्ठ उपाध्यक्षमा मातृका खनाल, उपाध्यक्षमा युवराज घिमिरे, महिला उपाध्यक्षमा लालुमाया गुरुङ, महासचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा अमृता घिमिरे, सचिवमा कृष्ण आले र सहकोषाध्यक्षमा बेलिना थापा सर्वसम्मत चयन भएका छन् ।
यसैगरी, सदस्यमा रामचन्द्र अर्याल, विश्व विनोद, राजु थापा, शम्शेर लौडारी, लोकचन्द्र खनाल, ध्वज गुरुङ, मेमबहादुर गुरुङ, कृष्णजङ गुरुङ र सन्जोग लामिछोन चयन भएका निर्वाचन समितिका संयोजक तीर्थराज पराजुलीले जानकारी दिए ।
अधिवेशनको उद्घाटन गर्दै सांसद जमिन्द्रमान घलेले ठाडोभाका जस्ता लोक संस्कृतिको संरक्षण गर्नु समयको माग भएको बताए । उनले आफ्नो तर्फबाट ठाडो भाकालगायत लमजुङका लोक संस्कृतिको संरक्षणका लागि जस्ता सुकै सहयोग गर्न तयार रहेको जनाए । प्रतिष्ठानका सल्लाहकार तथा आजीवन सदस्यसमेत रहेका सांसद घलेले जिल्लाका सर्जकहरूका कृति किन्ने वातावरण बनाउनका लागि पहल गर्ने प्रतिबद्धतासमेत सो अवसरमा व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन जिसीले लोककला संस्कृृति राष्ट्रको धरोहर भएकाले संरक्षणमा लाग्न सबैलाई आह्वान गरे ।
नेपाली भाषा शिक्षक परिषद् कास्कीका अध्यक्ष तथा ठाडो भाकाकै विषयमा अनुसन्धान गरिरहेका लोकचन्द्र खनालले ठाडो भाकाका नाममा सुनिएका र देखिएका अन्य भाकाहरुबाट मूल भाका पहिचान गरी संरक्षण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ठाडोभाका शिरोमणि भेडीखर्के साइँलाले ठाडोभाकाकै गीतमार्फत शुभकामना दिएका थिए । सोही अवसरमा राष्ट्रिय कविता महोत्सव २०७१ मा तृतीय भएका लमजुङका कवि हरिशरण परियारलाई सम्मान पनि गरिएको थियो ।
प्रतिष्ठानले २०७३ सालभरमा कास्की, तनहुँ, गोरखा, चितवन र काठमाडौँमा शाखा विस्तार गर्ने, ठाडोभाका र नौमती बाजाको प्रशिक्षण सञ्चालन गर्ने सहितका विभिन्न प्रकारका १८ कार्यक्रमको अनुमोदन गरेको छ ।
