
काठमाडौँ, १३ वैशाख-
अन्ततः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) को सदस्यता निलम्बन गरेको छ ।
क्यानसम्बन्धी अदालतमा चलिरहेको मुद्दा र राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको तदर्थ समितिका कारण नेपालमा क्रिकेट नेतृत्वमा आएको रिक्ततालाई दृष्टिगत गर्दै आइसिसिले निलम्वन गरेको हो ।
दुबईमा यही सोमबार बसेको बोर्ड बैठकले सरकारी हस्तक्षेप प्रतिबन्धित गर्ने र स्वतन्त्र तथा निष्पक्ष चुनावको आवश्यकता स्थापित गर्ने आइसिसीको आबद्धताको धारा २.९ उल्लङ्घन गरिएकामा सदस्यता निलम्बन गर्ने निर्णय गरेको हो ।
निलम्बनको अर्थ क्यानले आइसिसीबाट अब कुनै पनि प्रकारको आर्थिक सहयोग प्राप्त गर्ने छैन । तर नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसीद्वारा आयोजित प्रतियोगितामा सहभागी हुन पाउने भएको छ ।
