
लेखनाथ १७ वैशाख-
“वेगनास जाऔं, माछाका परिकारमा रमाऔं“ भन्ने नाराका साथ आजदेखि लेखनाथ नगरपालिकाको वेगनासतालमा दोश्रो वेगनास फिस फेष्टीवल सुरु भएको छ ।
होटल तथा रेष्टुरेण्ट एशोसिएशन लेखनाथको आयोजनामा भएको सो फेष्टीवलमा त्यस ठाउंमा रहेका दिपाङ, वेगनास र रुपातालमा पाइने २३ थरीका माछाका परिकारहरु वनाएर दर्शकहरुलार्ई खुवाउनुको साथै ती सवै जातका जिवित माछाको प्रदर्शन समेत गरिने छ ।
यस क्षेत्रमा पाइने माछा, मह, कफी, जडिवुटीहरु र पर्यटकीयस्थलहरुको प्रचार प्रसार तथा स्थानीय जातका माछाहरुको संरक्षण एवं आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्नु महोत्सवको मूख्य उद्धेश्य रहेको छ ।
महिला तथा पुरुष खुल्ला डुंगा दौड, माछा तथा खानाका स्टल, माछा र मह तथा कफी एवं जडिवुटीको प्रदर्शनी, पप कन्सर्ट, लोक दोहोरी र स्थानीय सांस्कृतिक कार्यक्रम फेष्टीवलमा प्रस्तुत गरिनेछ ।
फेष्टीवल करीव ७० हजार दर्शकले अवलोकन गर्ने र ५० लाख भन्दा वढीको आर्थिक कारोवार हुने अनुमान छ । फेष्टीवल अवधिभर बेगनास,रुपा र दिपाङ तालवाट तीन देखि चार टनसम्म माछा खपत हुने र महोत्सवमा आउने दर्शकहरुलाई स्थानीय स्तरकै माछाको स्वाद चखाउने आयोजकले जनाएका छन् ।
सासद यज्ञ वहादुर थापाले आज फेष्टीवलको उद्घाटन गर्दै राजनैतिक पूर्वाग्रह नराखी विकास निर्माणका कार्यमा सवै राजनैतिक दल एक ढिक्का भएर अघि वढ्न आग्रह गरेका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोक वहादुर भण्डारीले लेखनाथलाई पर्यटन मैत्री शहर वनाउनु पर्नेमा जोड दिएका थिए ।
फेष्टीवल यही वैशाख १९ गतेसम्म चल्ने छ । सो फिस फेष्टीवलमा २५ वटा विभिन्न स्टलहरु राखिएका छन् ।
