
पोखरा, १७ बैशाख-
पोखरा उद्योग वाणिज्य संघको हलमा शुक्रबार ‘पुलिस र प्यास’ नाटक मञ्चन भएको छ ।
नाटक हेर्न पोखरेली दर्शकको ओइरो लाग्दा आयोजकलाई व्यवस्थापन गर्न मुस्किल परेको थियो । हलका सिट भरिएपछि कति दर्शकले उभिएरै भएपनि नाटकको तृष्णा मेटाएका थिए ।
झण्डै सवा एक घण्टाको अवधिभर नाटक हेर्ने दर्शकले खुलेरै कलाकारलाई सर्पोट समेत गरे । पोखरामा नाटक देखाउनको लागि छुट्टै हल नभएकोले प्राविधिक रुपमा केहि कमजोरी देखिएपनि त्यस्को कुनै प्रवाह दर्शककले गरेनन् । पञ्चामृत नाट्य समुह पोखराको संयोजनमा मञ्चन भएको नाटक बैशाख १८ गते शनिबार ४ बजे पुनः मञ्चन हुने कार्यक्रम संयोजक परिवर्तनले जनाए ।
विदाको दिन भएकोले शनिबार झनै दर्शकको सहभागीता बढ्ने अपेक्षा आयोजकले गरेका छन् ।
कृष्ण उदासीको लेखन निर्देशन रहेको नाटकमा परिवर्तन, दिल प्रसाद गुरुङ, सवु पाठक, आशिष अधिकारी, विवश बाबु, मुना गुरुङ, सितला अधिकारी, मनिषा गौतम लगायतको अभिनय छ । नाटकमा चोर, जड्या, जुवाडे, यौन व्यवसायी, पुलिस र पागल चरित्र मार्फत समाजमा भइरहेको विकृती र यस्को निराकरण कसरी गर्ने भन्ने सन्देश दिन खोजिएको छ ।
‘यस्ता पात्र समाजमा कसरी उत्पन्न हुन्छन् र यस्को निराकरण कसरी गर्ने भन्ने सन्देश नाटकमा दिइने छ ।’ नाटककार कृष्ण उदासीले बताए । उदासीको यो १ सय ३ औँ नाटक हो । यस अगाडी उनले १ सय २ वटा नाटकमा उनले विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका थिए । परिवर्तनको संयोजन र व्यस्थापन रहेको यस नाटकमा सुत्राधार अश्रुलता बास्तोला, मञ्च संयोजन तथा व्यस्थापन प्राञ्जल, साउन्ड तथा प्रकाश व्यवस्थापन एस. के साउन्ड, कोरियोग्राफी मुना गुरुङ, संगित संयोजन रविभूषण पराजुलीको रहेको छ ।
विषयवस्तुका दृष्टिकोणले आफ्ना अन्य नाटकमा भन्दा फरकपन यसमा पाइएकोले दर्शकहरु उत्साहित भएको नाटककार उदासी बताउँछन् । नयाँ कलाकार भएपनि उनीहरुले आफ्नो अभिनय मार्फत नाटकपारखीहरुले नाटकको तृष्णा मेटाएकोे उदासीको दावीे छ । पोखरामा नाटक हेर्ने दर्शक रहेकोले नाटक मार्फत अगाडी बढ्न खोज्नेलाई पोखरा उत्तम रहेको यस्ले देखाएको उनले बताए ।
यौ नाटकको संयोजनको जिम्मा लिएको पञ्चामृत नाट्य समुहमा परिवर्तन, प्राञ्जल, दिपक पराजुली, रामचन्द्र आरसी र रविन शर्मा रहेका छन् । नाटक हेर्ने दर्शकबाट पाएको प्रतिक्रियाले यो समुहको भविष्य निर्धारण गर्ने भएकोले पनि समुहले छुटेका दर्शकलाई शनिबार नाटक हेरेर प्रतिक्रिया दिन सबै आग्रह गरेको छ । यो नाटक मञ्चनले पोखरामा छुट्टै नाटक घरको आवश्यकता महशुस समेत गराएको छ ।
