
काठमाडौं, २४ वैशाख-
नेपाली कांग्रेसका सांसद गगन थापाले स्वामित्व खरिद बिक्रीमा एनसेललाई पुँजिगत कर लगाउने विषयमा छलफल गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ ।
एनसेलको स्वामित्व स्वीडेनको टेलियासोनेराबाट मलेशियाको एक्जिएटा कम्पनीले खरिद गरेको तर त्यसको पुँजिगत लाभ कर नेपाल सरकारलाई नतिरेको विषयमा छलफल गर्न थापाले जरुरी प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्तावमा कुल १ खर्ब रुपैयाँ भन्दा धेरैमा किनबेच भएको एनसेलको स्वामित्व खरिद बिक्री वापत लाग्ने कर सरकारको आम्दानीको मुख्य मध्येको एक हिस्सा हुने, आगामी दिनमा बैदेशिक लगानीमा नजिर बस्ने भएकाले पुँजिगत लाभ कर उठाउन संसदले सरकारलाई निर्देशन दिनुपर्ने थापाको माग छ ।
उहाँले कर उठाउन आयकर ऐन २०५८ लगायत अरु कानुन संशोधनको गर्न पनि प्रस्ताव गरेका छन् ।
दर्ता भएको जरुरी महत्वको यो प्रस्तावमा सांसदहरु भिमसेनदास प्रधान र अमृतलाल राजबंशीको समर्थन गर्नुभएको छ ।
नेपालमा सञ्चालनमा रहेका कुनै पनि दुरसञ्चार सेवा प्रदायक कम्पनीले स्वामित्व किनबेच गर्दा नेपाल दुरसञ्चार प्राधिकरणसँग स्वीकृती लिनु पर्ने प्रावधान छ । तर टेलियासोनेराले एनसेलको शेयर मलेशियाको कम्पनीलाई बेच्ने बेलामा प्राधिकरणको स्वीकृती नै नलिएको देखिएको थापाको दावी छ ।
