
पोखरा, २४ वैशाख-
कास्की पुरून्चौर गाविसमा धुँवामुक्त अभियान थालिएको छ । दाउराबाट निस्कने धुवाँले स्वास्थ्यमा पर्ने असरलाई कम गर्न सुधारिएको चुलो निर्माणमा गाउँले जुटेका हुन् ।
गाउँलाई धुवाँमुक्त बनाउन गाउँले छलफलमा जुटेका छन् । पहिलो चरणमा गाविसका १ सय ५० दलित परिवारमा सुधारिएको चुलो निर्माण गरिने छ । दलित परिवालाई चुलो निर्माणका लागि आमा मिलन केन्द्र पोखरा, टिम अर्गनाइजेसन टोली, पिपुल हेल्र्थ फाउन्डेसन र नेत्रहिन संघ कास्कीले सहयोग गर्ने भएका छन् ।
‘गाविसलाई धुवाँमुक्त बनाउन स्थानीय जुटेका छन्,’ आमा मिलन केन्द्र अध्यक्ष इन्दिरा पौडेलले भनिन् – ‘हामीले पहिलो चरणमा १ सय ५० दलित परिवारलाई ५ सय रूपैयाँ र प्राविधिक उपलब्ध गराउँदै छौं ।’ सुधारिएको चुलो निर्माण गर्न दलित लक्षिक कार्यक्रममार्फत् गाविसले ३० हजार रूपैयाँ छुट्याइएको सचिव हरिप्रसाद अधिकारीले जानकारी दिए ।
दलित परिवारमा चुलो निर्माण सकिएलगत्तै सामुदायिक वन महासंघ कास्कीको सहयोग र स्थानीयको सक्रियतामा गाविसका सबै परिवारमा अभियान थालिने छ । पहिलो चरणको कार्यक्रम गर्न पुरून्चौरमा छलफल भएको छ । छलफलले गाविस सचिव अधिकारीको संयोकत्वमा चुलो निर्माण उपभोक्ता समिति र अनुगमन समिति गठन ग¥यो ।
भान्छामा काम गर्ने महिलालाई धुवाँले स्वास्थ्यमा पार्ने असरबाट जोगाउन सुधारिएको चुलाले सहयोग गर्ने कार्यक्रम संयोजक यमनाथ सापकोटा बताउँछन् । धुवाँमुक्त बनाउन पहिलो चरणको कार्यक्रमसँगै गाविसभरी नै सामुदायिक वन महासंघले अभियान थाल्ने महासंघका मोहनराज न्यौपानेले बताए । छलफलमा आमा मिलन केन्द्र सहसचिव सुमित्रा दुराले सहजीकरण गरेकी थिइन् ।
