
पोखरा, २९ बैशाख-
नेपाल ट्रस्टको कार्यालयले ३ वटा दरबार अवलोकन गर्न सर्वसाधारणलाई खुल्ला गर्ने निर्णय गरेको प्रति पश्चिमाञ्चल होटल संघ पोखराले स्वागत गरेको छ ।
संघका अध्यक्ष भरतराज पराजुलीले बुधबार एक विज्ञप्ति जारी गरी पुराना दरबारहरु जनताका लागि खुल्ला गरिनु सकारात्मक भनी टिप्पणी गरेका छन् । यसले भ्रमणका लागि आउने नेपाली तथा विदेशी पर्यटकको बसाई लम्ब्याउन समेत सघाउने विश्वास उनले व्यक्त गरे ।
शुल्क लिई अवलोकन गर्न खुल्ला गरिएका दरबारमा रत्नमन्दिर दरबार (पोखरा), दियालो बङ्गला दरबार (चितवन) र कान्ति ईश्वरीय दरबार (हेटौँडा) रहेका छन् ।
गत वैशाख ८ गतेको निर्णयअनुसार रत्नमन्दिर दरबार अवलोकन गर्न विदेशी नागरिकलाई रु १ हजार, स्वदेशी नागरिकलाई रु १०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई रु ५०, दियालो वङ्गला दरबार अवलोकन गर्न विदेशी नागरिकका लागि रु ५००, स्वदेशी नागरिकलाई रु ५० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई रु २५ निर्धारण गरिएको जनाइएको छ ।
यसैगरी, कान्तिईश्वरीय दरबारका लागि विदेशी नागरिकका लागि रु १००, स्वदेशी नागरिकका लागि रु २५ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लाग रु १० शुल्क निर्धारण गरिएको नेपाल ट्रष्टको कार्यालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिएका छन् । सचिव उपाध्यायले निकट भविष्यमा अन्य दरबारको तयारी गरी खुल्ला गरिने जनाएका छन् ।
