
पोखरा, ३० बैशाख-
पोखराको लेकसाइडमा रहेको रत्नमन्दिर सर्वसाधरणका लागि खुल्ला हुने भएको छ । असार पहिलो साता देखी रत्न मन्दिरमा सर्वसाधरणका लागि खुल्ला गरिने नेपाल ट्रस्टले जानकारी दिएको छ ।
अहिले खुल्ला गर्नका लागि आवश्यक मर्मत सम्भार, टिकट छपाई र अन्य तयारी भईरहेको ट्रस्टले जानकारी दिएको छ । छिटोमा जेठ अन्तिम साता र ढिलोमा असार पहिलो साता खुल्ने छ ।
कार्यालयले ३ वटा दरबार अवलोकन गर्न सर्वसाधारणलाई खुल्ला गर्ने निर्णय गरेको छ । शुल्क लिई अवलोकन गर्न खुल्ला गरिएका दरबारमा रत्नमन्दिर दरबार (पोखरा), दियालो बङ्गला दरबार (चितवन) र कान्ति ईश्वरीय दरबार (हेटौँडा) रहेका छन् ।यसले भ्रमणका लागि आउने नेपाली तथा विदेशी पर्यटकको बसाई लम्ब्याउन समेत सघाउने विश्वास पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले बताए । दरबारहरु जनताका लागि खुल्ला गरिनु सकारात्मक भएको उनले बताए ।
गत वैशाख ८ गतेको निर्णयअनुसार रत्नमन्दिर दरबार अवलोकन गर्न विदेशी नागरिकलाई १ हजार, स्वदेशी नागरिकलाई १ सय र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई रु ५०, दियालो वङ्गला दरबार अवलोकन गर्न विदेशी नागरिकका लागि ५ सय, स्वदेशी नागरिकलाई रु ५० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई रु २५ निर्धारण गरिएको जनाइएको छ ।
