पद्मराज ढकालको एकल साँझ जेठ ७ गते हुने

Share:

पोखरा, १ जेठ-
पोखरामा लामो समयदेखि गायन तथा साहित्यको क्षेत्रमा क्रियाशिल लोक गायक तथा गीतकार पद्मराज ढकालको एकल साँझ आगामी जेठ ७ गते पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा हुने भएको छ । राष्ट्रिय जनसाँस्कृतिक मञ्च, कास्कीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनका बीच उक्त जानकारी दिइएको हो ।
जनसंगित मञ्च, नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका ढकालको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको महासंघ गण्डकीका सचिव सुवास मल्लले उक्त अवसरमा जानकारी दिए । जनसंगित मञ्च, नेपालको केन्द्रीय कार्यक्रम अनुरुप हरेक महिनाको प्रथम शुक्रबार सांगिततिक क्षेत्रका प्रतिभालाई मञ्चमा उभ्याएर ‘आरोह जनसंगित यात्रा’ सम्पन्न गर्ने कार्यक्रम अनुरुप २२ औं संस्करणमा ढकालको एकल प्रस्तुती हुने उनले जनाए ।
राजधानी बाहिर मञ्चले पहिलो पटक पोखरामा यो यात्रा सम्पन्न गर्न लागेकाले पनि यसलाई पोखराले महत्वका साथ लिएको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो । उक्त अवसरमा ९ वटा गीतहरुको गायन तथा २ वटा गीतहरुको नृत्य प्रस्तुत हुने ढकालले बताए ।
यस अघि नै पोखरा सभागृह, पोखरामा २०६९ वैशाख १६ र मन्दिप मिलन चलचित्र मन्दिर, लेखनाथमा २०६९ वैशाख २३ गते एकल कार्यक्रम सम्पन्न भइसकेको ढकालको यो तेस्रो एकल कार्यक्रम हुनेछ । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको पनि जानकारी गराइएको छ ।
कार्यक्रमका लागि विभिन्न सहयोगीहरुले सहयोग प्रदान गर्ने क्रम जारी रहेको र कार्यक्रमबाट वचत भएको रकम जेठ २२ गते सम्पन्न गर्न लागिएको जनसाँस्कृतिक महासंघ, कास्कीको जिल्ला सम्मेलन सम्पन्न गर्न खर्च गरिने बताइएको छ । सोही सन्दर्भमा महासंघका घटक संस्थाहरु ललितकला मञ्च, कास्कीले जेठ १४ गते विद्यालयस्तरिय चित्रकला प्रतियोगिता तथा जन साहित्यिक मञ्च, कास्कीले जेठ १५ गते खुल्ला कविता प्रतियोगिता सम्पन्न गर्ने र त्यसको खर्चको व्यवस्थापन पनि यसै कार्यक्रमको वचत रकमबाट गरिने आयोजकहरुको भनाई छ ।
कार्यक्रम जनसंगित मञ्च, कास्कीको आयोजना तथा जनसांस्कृतिक महासंघ, कास्कीको व्यवस्थापनमा सम्पन्न हुनेछ । कार्यक्रमका लागि एक लाख पचासी हजार रुपैयाँ खर्च हुने र तीन लाख रुपैयाँ आम्दानी भई एक लाख पन्ध्र हजार रुपैयाँ वचत हुने अनुमान आयोजकहरुको छ ।
शनिबारको पत्रकार सम्मेलन जनसांस्कृतिक महासंघ, कास्कीका अध्यक्ष लक्ष्मण गौतम हिमालीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा महासंघ गण्डकीका ईञ्चार्ज मनकुमार श्रेष्ठ, सचिव सुवास मल्ल, स्रष्टा पद्मराज ढकाल तथा महासंघ, कास्कीका अध्यक्ष लक्ष्मण गौतम हिमालीले बोलेको थिए ।

कमेन्ट गर्नुहोस्
Share: