उद्योगी व्यवसायीलाई हतोत्साही नबनाउन सुझाव

Share:

पोखरा, २ जेठ-
पूर्व उद्योग तथा बाणिज्य सचिव पुरुषोत्तम ओझाले खरदारकहाँ गएर ङिच्च दाँत देखाउनु पर्ने बाध्यताका कारण नेपालमा उद्योगी/व्यवसायी हतोत्साही हुने गरेको बताएका छन् ।
उनले नेपालमा उद्योग/व्यवसाय दर्ता गर्ने झन्झटिलो व्यवस्था, कर्मचारीको असहयोग र नीतिगत अस्पष्टताले गर्दा व्यवसायिक वातावरण बन्न नसकेको स्वीकारेका छन् । राज्यलाई कर तिर्छु र रोजगारी सृजना गर्छु भन्ने व्यक्तिलाई राज्यको करबाट तलव खाने तल्लो तहका कर्मचारीले अनावश्यक दुःख दिनु जायज नभएको उनको भनाईको आशय थियो ।
पोखरा उद्योग वाणिज्य संघ तथा इकोनमिक पोलिसी इनक्यूबेटरको संयुक्त आयोजनामा आइतबार पोखरामा आयोजना भएको ‘नेपालको औद्योगिक क्षेत्रको प्रतिष्पर्धी क्षमताको विकास र परिणाम’ विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्व सचिव ओझाले विशेष औद्योगिक क्षेत्र ( सेज) को व्यवस्थापन, साना तथा घरेलु उद्योगको उत्पादकत्व वृद्धि, उद्योग/व्यवसाय दर्तामा सरलिकरण तथा भएको बजारको अधिकतम् उपयोगले मात्र नेपाली उद्योगी/व्यवसायीले लाभ लिन सक्ने उनको भनाइ थियो ।
अमेरिकाले विभिन्न ६६ वटा सामानहरुमा भन्सार छुट दिएको प्रसङ्ग झिक्दै ओझाले त्यसको उपयोगमा ध्यान दिनुपर्ने सुझाए । केही वर्ष अगाडिसम्म कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा १७ प्रतिशत योगदान दिने उद्योग क्षेत्र अहिले खुम्चिएर ६ प्रतिशतको हाराहारीमा आउनु दुखद भएको उनको भनाई थियो ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुुकुमार थापाले श्रम ऐन, जग्गा प्राप्ति ऐन लगायतका ऐनहरु अहिलेसम्म मन्त्रालयमा अड्कँदा लगानी मैत्री वातावरण बन्न नसकेको गुनासो गरे । कर्मचारीतन्त्रमा देखिने असहयोगी व्यवहार, व्यवसाय दर्ता र संचालनको लागि एकद्धार प्रणालीको अभावले समेत समस्या खडा गरेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य ईश्वर कर्माचार्यले व्यवसायीहरुलाई लगानीको लागि सरकारले नीतिगत सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । अर्की कार्यसमिति सदस्य हीरा भट्टराईले स्थानीय स्तरमा साना तथा मझौला उद्योगबाट उत्पादित सामानहरुको बजार बिस्तारमा राज्यले ध्यान दिनुपर्ने बताइन् । यसैगरी कार्यसमिति सदस्य सीता गुरुङले हस्तकला तथा साना उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थको उत्पादन बृद्धि तथा त्यस्ता सामानहरुमा कर छुटको व्यवस्था गर्न सके हस्तकला र साना उद्योगको विकास हुने धारणा राखिन ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कास्कीका अध्यक्ष महाप्रसाद लामिछानेले बजारको माग हेरेर उत्पादन गर्नका लागि सरकारको तर्फबाट नै बजार बिस्तारको परियोजना ल्याउनुपर्नेमा जोड दिए । सचेतना हस्तकलाकी संचालक गोमा सुवेदीले हस्तकला र साना उद्योगहरुका उत्पादनलाई राज्यले विशेष प्रोत्साहन दिनुपर्ने बताइन् । उद्योगपति प्रकाश केसीले नेपालमा एउटै प्रकृतिको उद्योग स्थापनाको होड चल्नु दुखद भएको बताउँदै व्यवसायीहरुले नयाँ सम्भावनाको क्षेत्रमा हात बढाउनु पर्ने धारणा राखे । नेपाल घरेलु तथा साना उद्योग महासंघ कास्कीका निवर्तमान अध्यक्ष माधव प्रसाद पराजुलीले उर्जा संकटको कारण उद्योगहरुको प्रतिष्पर्धात्मक क्षमतामा हस आएको बताए । व्यवसायी बुद्धि पुर्जाले उद्योगका उत्पादनले बजार लिने बेलासम्म धानिन मुस्किल हुने भएकोले उद्योग टिकाउनको लागि राज्यले उद्योगीलाई विशेष छुट दिनुपर्ने बताए । पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुको संचालन र कार्यसमिति सदस्य ईश्वर कर्माचार्यको धन्यवाद ज्ञापन रहेको कार्यक्रममा सहभागीहरुले साना र घरेलु उद्योगको विकासमा राज्यले स्पष्ट नीति नियम बनाउनु पर्नेमा विशेष जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: