अनुपम साङ्गीतिक साँझमा दर्शकको भिड, कर्णदास, बराल र रचक सम्मानित

Share:

पोखरा, १६ जेठ-
अनुपम म्युजिक पोखराले आयोजना गरेको तेस्रो अनुपम साङ्गीतिक साँझका अवसरमा विभिन्न स्रष्टाहरुलाई सम्मान गरिएको छ ।

संस्थाले हरेक वर्ष प्रदान गर्ने अनुपम म्युजिक अवार्डबाट गायक कर्णदास सम्मानित भए । उनलाई नगद ८ हजार ८८८ रुपैयाँ, दोसल्ला र सम्मान पत्रसहितको अवार्ड प्रमुख अतिथि पर्यटनविद् झलक थापा, प्राज्ञ हरिदेवी कोइराला, समाजसेवी वीरेन्द्र पालिखे, एन प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोची र अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले प्रदान गरे ।

जन्दगीको के भरोसा…, पुरानो डुङ्गा…, ठुला ठुला महल हैन…, फर्किआऊ शान्ति तिमी… लगायत १२ सयभन्दा बढी गीतका गायक कर्णदासका मध्याह्न भाग १, २, ३, व्यर्थै फेरि, आधा सपना, पुरानो डुङ्गा, प्रीत, एउटा नयाँ आशालगायतका एल्बमहरु स्रोतमाझ आइसकेका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा खचाखच दर्शकको भिडका माझ भएको कार्यव्रmममा अनुपम सङ्गीत सम्मानबाट सङ्गीतकार नवराज बराल र गीतकार रेशम रचकलाई सम्मान गरिएको छ ।

सङ्गीतकार बरालले नेपाल आमा, किसानको आवाज, किसानी जिन्दावाद, बाँच्ने रहरलगायतका एल्बममा एकल सङ्गीत दिए ।

भजन गङ्गा (भजन सङ्ग्रह) र मेरो गीत–मेरो सङ्गीत (गीत सङ्ग्रह) गरी दुई ओटा किताब भएका बराल त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक हुन । गीतकार रेशम रचकका गोधूलिको साँझ, आरम्भ (भाग १ र २), हाम्रो माया, बैना रुमाल लगायतका सुगम सङ्गीत र लोक दोहोरी गीतका एल्बमहरु स्रोतामाझ आइसकेका छन् ।

यसै बिच, सोही अवसरमा बालगृह सन्जाल कास्कीको समन्वयमा आयोजित अन्तर बालगृह सामूहिक नृत्य प्रतियोगितामा हिमाली बाल कल्याण संरक्षण मन्च पहिलो भएको छ । १९ समूहबाट छानिएर आएका ६ समूहबिच भएको प्रतियोगितामा सिर्जना बालगृह र रेन्बो चिल्ड्रेन होम नेपाल व्रmमशः दोस्रो र तेस्रो भएका छन् भने स्क्यान नेपाल (रङ्गीन होम), कोपिला बालगृह र हिमालय बाल बालिका तथा वातावरण संरक्षण संस्था सान्त्वना भएका छन् । पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले २५ सय तथा सान्त्वना हुनेले १५ सय रुपैयाँ नगदसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

सम्मानित व्यक्ति तथा पुरस्कृत संस्थाहरुलाई पत्रकार कृष्णप्रसाद बाँस्तोला, बद्रिविनोद प्रतीक, शिक्षासेवी शेरबहादुर गुरुङ, सम्मानित नवराज बरालका पिता चूडामणि बराल, गीतकार होम न्यौपाने पुरस्कार वितरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: