
काठमाडौं, १९ जेठ-
नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी तथा प्रशिक्षक बालगोपाल महर्जन बंगलादेशको ए डिभिजन क्लबको प्रशिक्षक नियुक्त भएका छन् ।
पत्रकार सम्मेलन गरेर उनले बंगलादेशको ए डिभिजन क्लब ब्रदर्श युनियनको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न लागेको जानकारी दिएका हुन् । क्लबसँग तीन महिनाको सम्झौता भएको र बिहीबार ढाका जाने पनि उनले बताएका छन् ।
उनले मासिक १५ सय अमेरिकी डलर अर्थात डेढ लाख नेपाली रुपैयाँ पारिश्रमिक पाउने छन् । उनी सन् २००१ देखि २००३ सम्म ब्रदर्श युनियन क्लबबाटै खेलेका थिए ।
५ महिनाअघि बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा उनको प्रशिक्षणमा रहेको नेपाली टोलीले उपाधि जितेपछि उनीमाथि बंगलादेशको क्लबले चासो राखेका थिए । महर्जनले यसअघि भारतीय लिग आई लिगको दोश्रो डिभिजनको क्लब सिक्किमको डिजोङ ब्वाइजमा प्रशिक्षण दिएका थिए ।
