
आज कास्कीको लेखनाथमा आयोजित लेखनाथ नगरपालिकामा निर्मित रंगशाला उद्घाटन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले व्यक्त गर्नुभएको मन्तव्य । आदर्श युवा क्वव, लेखनाथले सुप्रिम कमिटि फर डेलीभरी एण्ड लिगेसी, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था राईट ट प्ले, जिल्ला खेलकुद विकास समिति, लेखनाथ नगरपालिकालगायतका आर्थिक सहयोगमा रंगशाला निर्माण गरेको हो ।
‘सात तालको बगैचा शहर’को रुपमा चिनिने प्राकृतिक सौन्दर्ययुक्त नगरी लेखनाथमा निर्माण भएको रंगशालाको उद्घाटन समारोहको अवसरमा लेखनाथबासी दिदी–बहिनी तथा दाजुभाईहरुमाझ उपस्थित हुन पाउँदा ज्यादै हर्षित भएको छु ।
द्द। लेखनाथ नगर र कास्की जिल्लाको मात्रै होइन, समग्र देशकै खेल क्षेत्रको विकासमा ऐतिहाँसिक कोशेढुंगा सावित हुने यो रंगशाला निर्माण गर्नुभएकोमा आदर्श युवा क्लवका पदाधिकारी तथा सदस्यहरु, रंगशाला निर्माणका सहयोगी संस्थाहरु, खेलाडी तथा प्रशिक्षक साथीहरु र आफ्नै घरआगनमा निर्मित सुविधा सम्पन्न रंगशालामा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगीताहरु हेर्न आतुर लेखनाथबासी दिदीबहिनी तथा दाजुभाईहरुलाई बधाई दिन चाहान्छु । खेल क्षेत्रको विकासका लागि तपाईंहरुले सफलतापूर्वक सम्पन्न गर्नु भएको यस ऐतिहाँसिक कार्यका लागि म आदर्श युवा क्लव, यसका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु र रंगशाला निर्माणका सहयोगी संस्थाहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।
खेलकुद आजको विश्व बन्धुत्व, शान्ति र समझदारी विकासको महत्वपूर्ण कडीको रुपमा रही आएको छ । स्वस्थ नागरिक, मर्यादित समाज र समृद्ध राष्ट्र निर्माणको लागि खेलकुदको अहम भूमिकासमेत रहिआएको छ । आजको युगमा खेलकुद व्यक्तिगत विषय भन्दा पनि सिंगो समाज र राष्ट्रको महत्वपूर्ण विषय बनिसकेको छ ।
मानवीय मूल्य मान्यता, सामाजिक सद्भाव र भाईचारा विकास गर्न तथा शारिरीक र मानसिक रुपले स्वस्थ नागरिक तयार गरी खेलको माध्यमबाट समाजमा स्थायी शान्ति कायम गर्दै राष्ट्रको प्रगति र अन्तर्राष्ट्रिय जगतमा देशको राष्ट्रिय झण्डा फहराईरहन खेलकूदको व्यापक विकास आजको टड्कारो आवश्यकता हो ।
छ। खेलकुदको विकास, खेलाडीहरुको खेल क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि पहिलो शर्त भौतिक पूर्वाधारको निर्माण हो । तर हामी खेलकुद पूर्वाधार निर्माणमा धेरै पछि परिसकेका छौँ । नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित बनाउन थालेका फुटबल र क्रिकेटजस्ता खेलको विकासका लागि भौतिक पूर्वाधारको विकास अनिवार्य छ । यसतर्फ राज्य, सरोकारवालाहरुको ध्यान केन्द्रित भइरहेको भए पनि हामीले ठोस् परिणाम भने पाउन सकिरहेका छैनौँ ।
कुनै बेला राणा परिवारमा रहेको फुटबल अहिले गाउँगाउँ पुग्नु सुखद पक्ष भए पनि यसका लागि आवश्यक पूर्वाधारहरु निर्माण नहुनु दुःखद पक्ष हो । म फुटबललगायत खेलकुदको तिव्र विकासका लागि खेलमैदान निर्माणमा लगानी बढाउन सरकार र सरोकार निकायहरुको गम्भीर ध्यानाकर्षण गराउँदछु ।
सहि योजना, सकारात्मक सोंच र विकासको वातावरण बन्यो भने सुविधा सम्पन्न खेल मैदानहरु बनाउन हामीलाई कुनै गाह्रो छ जस्तो मलाई लाग्दैन । यसको ज्वलन्त उदाहरण तपाईंहरु नै हुनुहन्छ, जसले कवि शिरोमणी लेखनाथ पौडेलको नामबाट नामांकरण गरिएको यो लेखनाथ नगरपालिकाको मुटुमा यो रंगशाला निर्माण गर्नुभएको छ । यो रंगशाला निर्माणका लागि अहोरात्र खट्नुहुने आदर्श युवा क्लवका साथीहरु, आर्थिक सहयोग गर्नुहुने विश्वकप २०२२ को आयोजक सुप्रिम कमिटि, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था मर्सिकोर, राईट टु प्ले, जिल्ला खेलकुद विकास समिति, लेखनाथ नगरपालिकालगायत सम्पूर्ण सहयोगी संस्थाहरुको यस कार्यको म खुला हृदयले प्रसंशा गर्दछु ।
उज्यालो भविष्यतर्फ लम्किरहेको लेखनाथमा निर्मित यो रंगशाला लेखनाथको समग्र भविष्यसँग जोडिएको छ । प्याराफिटहरु निर्माण गरेर यो रंगशालालाई अझै सुविधा सम्पन्न र बहुउद्देश्यीय खेलमैदानको रुपमा विकास गर्न यसमा पर्याप्त बजेटको व्यवस्था गर्न म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । साथै लेखनाथको सर्वाङ्गिण विकासमा ध्यान दिनसमेत म सबै पक्षको ध्यानाकर्षण गराउँदछु ।
नेपाली खेलाडीहरुले विश्वमा नेपालको शीर उचो बनाइरहेका छन् । खासगरी फुटबल र क्रिकेट खेलाडीहरुले पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा आशलाग्दो प्रदर्शन गरिरहेका छन् । खेलमैदानको अभाव, साधन स्रोतका कमीका बाबजुत पनि फुटबल र क्रिकेटमा नेपालले प्राप्त गरेको सफलता ऐतिहाँसिक उपलब्धी हुन् ।
ज्ञण्। देशका लागि योगदान दिने खेलाडीहरुलाई राज्यले सम्मान गर्दै आइरहेको पनि छ । तर, यो सम्मान पर्याप्त भने पक्कै छैन । म यस अवसरमा राष्ट्रको नाम विश्वमा चिनाउने नेपाली खेलाडीहरुको सुविधा बढाउन सरकारको ध्यानाकर्षण गराउँदछु ।
आज एकजना खेलाडीमाथि उनका परिवारका अन्य सदस्यहरु आर्थिक रुपमा आश्रित छन् भन्ने कुरा हामीले बोध गरिदिनुपर्दछ । जबसम्म हाम्रा खेलाडीहरुले आर्थिक अभाव महसुस गर्ने परिस्थितिको पूर्ण अन्त्य र सुरक्षाको पूर्ण प्रत्याभूतिको महसुस गर्ने वातावरण बन्दैन, तबसम्म खेलाडीहरुको प्रदर्शन उच्च कोटिको हुन सक्दैन ।
विगतका थुप्रै फुटबल प्रतियोगिताहरुको आयोजना गरिसकेको आदर्श युवा क्लवलाई आगामी दिनमा राष्ट्रिय प्रतियोगिताहरु आयोजना अब सहज भएको छ । म आगामी दिनमा ठूला फुटबल प्रतियोगिताहरु आयोजनाका लागि आदर्श युवा क्लवलाई शुभकामना दिन चाहान्छु ।
ज्ञघ। तपाईं लेखनाथवासीले प्रकृतिको सुन्दर उपहारलाई उपभोग गर्दै हुनुहुन्छ । यहाँका तालतलैयाले तपाईंहरुलाई सुन्दरतामात्रै दिइरहेका छैनन्, स्थानीयको जिविकोपार्जनको माध्यामसमेत बनिरहेका छन् । यी तालतलैयाको संरक्षण भने जरुरी छ । यी सुन्दर उपहारलाई हराभरा बनाउने पनि तपाईंहरुले नै हो । यसैमा थपिएको यो रंगशालालाई अझै सुविधा सम्पन्न बनाउन पनि तपाईंहरुको साझा प्रयास जरुरी छ ।
यो रंगशालालाई सुविधा सम्पन्न बनाउने तपाईंहरुको प्रयासमा मेरो सदा सर्वदा साथ रहिरहनेछ । म एक पूर्व खेलाडीको हैसियतले पनि सधै तपाईंहरुको साथमा रहनेछु ।
नेपाल र कतारको सम्बन्ध निकै पूरानो छ । हाम्रो मित्र राष्ट्र कतारले सन् २०२२ मा आयोजना गर्ने विश्वकपको सफल आयोजनाको लागि म कतारलाई शुभकामना दिन चाहान्छु ।
। संसारकै उत्कृष्ट र ऐतिहासिक खेल फिफा विश्वकप २०२२ को संस्करणका लागि आवश्यक भौतिक संरचनाहरु सम्पन्न गर्ने जिम्मेवारी लिएको सुप्रिम कमिटिले नेपालमा रंगशाला निर्माणमा सहयोग गरिरहेकोमा सुप्रिम कमिटिका एसिस्टेन्ट जनरल सेक्रेटरीज्यू र सिंगो कमिटिलाई नेपालको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
। अन्त्यमा, प्रकृतिको सुन्दर छटामुनि रहेको यो लेखनाथमा यस कार्यक्रमका लागि मलाई आमन्त्रण गर्नुभएकोमा आयोजक समितिप्रति धन्यवाद ज्ञापन गर्दछु । यस कार्यक्रमका लागि नेपालको सुन्दर पर्यटकीय नगरी पोखरा आउनु भएका विदेशी पाहुनाहरुलाई यहाँको रमणीय र सुन्दर दृष्यहरुको अवलोकन गरेर आनन्द लिन अनुरोध गर्दछु । धन्यवाद
