पोखराको पर्यटन प्रवद्र्धन गर्न निस्किएको उद्योग वाणिज्य संघको टोली फर्कियो

Share:

पोखरा, २७ जेठ-
सुन्दर पोखरालाई देशका अन्य भागमा प्रवद्र्धन गर्ने तथा व्यावसायिक सम्भावनाका नयाँ आयामहरुको खोजीमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको भ्रमणमा निस्केको पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डल बिहीबार पोखरा फर्किएको छ ।
संघका अध्यक्ष विन्दुकुमार थापाको नेतृत्वमा निस्केको प्रतिनिधीमण्डलले नेपालगञ्ज, बुटवल, कालिकोट, सुर्खेत उद्योग वाणिज्य संघहरु तथा स्याङ्जा उद्योग वाणिज्य संघको इकाई गल्याङसँग निजी क्षेत्रको साझा धारणा निर्माण लगायतका विविध विषयहरुका गहन छलफल तथा अनुभव आदान प्रदान गरेको छ ।
संघका महासचिव रवीन्द्रबहादुर प्रजुका अनुसार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले नेतृत्व गर्नुभएको प्रतिनिधीमण्डलमा द्धितीय उपाध्यक्ष मीनराज काफ्ले, महासचिव रवीन्द्रबहादुर प्रजु, कार्यसमिति सदस्यहरु नारायण कोइराला, दामु अधिकारी, ईश्वर कर्माचार्य,पवनकुमार प्रजापति, अर्जुन पोखरेल, बलराम आचार्य, मोहनबाबु खड्का, संघका कार्यकारी निर्देशक टोपबहादुर थापा र संघको मुखपत्र व्यापार पत्रिकाका सम्पादक वाशुदेव मिश्र सहभागी रहेका थिए ।
प्रतिनिधीमण्डलले पोखराको पर्यटनलाई सूदुरपश्चिमाञ्चलसँग जोड्नका लागि रारा तालसम्मको यात्रा तय गरेको थियो । मुगु जिल्लामा रहेको रारा तालको स्वच्छता देखेपछि अध्यक्ष थापाले पोखराका तालहरु संरक्षणको लागि ढिला भई सकेको प्रतिक्रिया दिए ।
कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले आफ्नो क्षेत्रको प्रचार गर्न तथा सो क्षेत्रको पर्यटन र जडिबुटीको क्षेत्रमा लगानी गर्न भ्रमण टोलीलाई आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष मीनराज काफ्लेले सो क्षेत्रमा अब संयुक्त लगानीमा जडिबुटी र पर्यटनको क्षेत्रमा लगानी बढाउन व्यवसायीहरुलाई सुझाव दिए । संघका महासचिव रवीन्द्रबहादुर प्रजुले भौगोलिक रुपले बिकट रहेको क्षेत्रका व्यवसायीहरुसँग निकटता बढाउने उदेश्यमा आफूहरु सफल भएको धारणा राखे ।

कमेन्ट गर्नुहोस्
Share: