डेढ बर्षसम्म अरु फिल्ममा नदेखिने सर्तमा ‘कृ’ बाट बीस लाख पारिश्रमिक लिए अनमोलले

Share:

काठमाडौं, ३१ जेठ-
अभिनेता अनमोल केसी भारी पारिश्रमिकसहित नयाँ फिल्ममा अनुबन्धित भएका छन्। नोभेम्बर रेन, क्लासिकजस्ता फिल्म निर्माण गरिसकेका सुवास गिरीले बीस लाख रकमसहित नयाँ फिल्म ‘कृ’मा अनमोललाई अभिनय गराउन लागेका हुन्।

हाल रिलिज भइरहेको फिल्म ‘गाजलु’ अभिनेता अनमोल अब डेढ वर्षसम्म कुनै पनि फिल्ममा देखिने छैनन्। फिल्मको सुटिङ अवधि डेढ वर्षमा अनमोलले कुनै पनि फिल्ममा अभिनय नगर्ने दुई पक्षबीच सम्झौता भएको छ। अमेरिका भ्रमणको तयारीमा रहेका अनमोलले यसै फिल्मका कारण भ्रमण रद्द गरेको बताइन्छ।

बदला अर्थ लाग्ने ‘कृ’ शीर्षकमा बन्ने फिल्ममा अनमोल पिता भुवन पनि निर्माताका रुपमा रहनेछन्। गिरीको स्वामित्वमा रहेका सुवास इन्टरटेन्मेन्ट र केसीको स्वामित्वमा रहेको सुपर काजोलको सहकार्यमा बन्ने फिल्ममा कमल गिरी कार्यकारी निर्माता र श्री पराजुली सहनिर्माताको रुपमा भित्रिएका छन्।

फागुनदेखि सुटिङ सुरु हुने फिल्ममा अनमोल एक्सन भूमिकामा देखिने बताइएको छ। फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्ने भएका छन्। फिल्म सम्पादनमा अनुभवी र धेरैको रोजाईमा पर्ने पौडेलले यसअघि ‘आभाष’ नामक फिल्मबाट निर्देशनको अनुभव बटुलिसकेका छन्।

छेतेन गुरुङ र आशिष रेग्मीको संयुक्त पटकथा लेखन रहने फिल्ममा अभिनेत्री भने पक्का नभइसकेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: