‘डीग्रि पास कांग्रेस सभापति व्यवसायिक कुखुरापालनमा’

Share:

श्यामशीत्तल परियार
लमजुङ, ५ असार-
द्धारिक मिश्र सवेरै उठ्छन् । उठेसंगै किराना पसलको सटर खोल्छन् । श्रीमतिसंगै मिलि सामानको व्यवस्थापन गर्छन् । र मुखमा पानी पनि नहाली उनी मोटरसाईकल स्टार्ट गर्छन् । अनि हँुईकिन्छन् । आफ्नो कुखुरा फार्मतिर । साँढे ६ वजे अगावै उनी कुखुरा फार्म पुगिसकेका हुन्छन् । फार्म पुग्ने वित्तिक्कै उनी कुखुरालाई दानापानी हाल्न आफैँ तम्सिन्छन् । फार्ममा उनले तीनजनालाई रोजगारी दिएका छन । कुखुराको हेरचाह र दानापानीमा कामदारले पनि उनलाई सघाउँछन् ।

उनको फार्ममा हाईलेन जातको लेयर्स कुखुरा (अण्डा उत्पादन गर्ने कुखुरा) छन् । त्यसपछि, ४ जना अण्डा संकलनमा जुट्छन् । र स्टोर रुमममा ल्याएर क्रेटमा अण्डा राख्दछन् । त्यसपछि, द्धारिका अण्डा विक्रीका लागि मोटरसाईकलमा हुईकिन्छन् ।

khukhura-palan (3)khukhura-palan (2)उनी अण्डा विक्रीका लागि स्थानीय वजार पाउँदी, सुन्दरवजार, खत्रीठाँटी, सिउँडीवार, भोटेओडार, उदीपुर पुग्ने गर्दछन् । अण्डा लिनको लागि कोही व्यापारी भने फार्ममै पनि पुग्ने गर्छन् ।
सुन्दरवजार नगरपालिका ३, धारापानीमा उनको घर छ । घरमा उनीसंगै उनकी श्रीमति र दुई छोरी वस्दै आएका छन । उनको कुखुरा फार्म भने सुन्दरवजार नगरपालिका ५, पाउँदीमा रहेको छ । घरवाट फार्मसम्म पुग्न उनलाई ५ मिनेटको समय लाग्छ ।

कृषिमा कसरी तानियो त उनको मन ?
वसुन्धुरा र दामोदर अधिकारीको कान्छो छोराको रुपमा उनी कुन्छामा जन्मे । यद्यपी अहिले उनका वुवाआमा दुवै स्वर्गारोहण भैसके । उनको परिवार कैलै परेवाडाँडा त कैलै दुराडाँडामा वसाईँ सर्यो ।

उनले स्थानीय विद्यालयवाटै एसएलसी पास गरे । उनले व्यवस्थापन संकायमा डीग्री पास समेत गरेका छन । परिवारले उनको विहेवारी पनि गराईदिए । लगत्तै, सन्तान पनि भए । २०५७ सालमा उनी श्रीमति, एक छोरा र दुई छोरी लिएर दुराडाँडावाट जीवन चलाउनका लागि हातमूख मात्रै लिएर भोटेओडार आए । कोठा भाडामा लिएर वस्न थाले । भाडाको कोठामै वसेर उनीहरुले ४ वर्ष विताए । उनले जीवन निर्वाहका लागि स्थानीय नीजि विद्यालयमा पढाउन शुरु गरे । ६० सालमा किराना पसल पनि चलाए । तर पनि उनलाई जीवन चलाउन छोराछोरी पढाउन सकस भयो ।

त्यसपछि, उनले २०६८ सालमा पाउँदीमा व्रोईलर कुखुरा पाल्न थाले । झण्डै १६ लाखको लागनीमा उनले कुखुरा पालन गरे । तर कुखुरालाई रोगले सतायो । समयमै प्राविधिक सेवा पाएनन् । कुखुरा धमाधम मर्न थाले । उनले कुुखरामा गरेको लगानी समेत उठाउन सकेनन् । उनलाई आर्थिक भार थपियो । साहुको साँवा व्याज तिर्न उनलाई धौधौँ पर्यो ।

कामदारको कुराले आँखा खुल्यो
कुखुरामा गरेको लगानी चुर्लुम्म डुवेपछि उनलाई चिन्ता पर्न थाल्यो । भोक, प्यास निद्राको कुनै सुर्ता भएन उनलाई । फार्मममा रहेका कामदार दीपेश मगरले उनलाई व्रोईलर छोडेर लेयर्स पाल्न उक्साए ।

‘सर, लेयर्स कुखुरापालन गर्नु । फाईदा हुन्छ,’ कामदारले भनेको कुरा स्मरण गर्दै कृषक द्धारिका मिश्रले भने, ‘वरु म पनि सघाउँछु भन्यो कामदारले । त्यसपछि मैले लेयर्स कुखुरापालनतर्फ हात हालेँ ।’

मिश्रले लेयर्स कुखुरा भने २०७० सालवाट पाल्न शुरु गरेका हुन ।

राजनीतिसंगै कुखरापालन
द्धारिक मिश्र व्यवसायिक कुखुरापालक कृषक मात्र होईनन् । उनी नेपाली कांग्रेस सुन्दरवजार नगर कार्य समितिको पहिलो जननिर्वाचित सभापति समेत हुन । उनले थुप्रै सामाजिक संघसंस्थामा काम गरी अनुभव समेत वटुलिएका छन । उनी आफ्नो व्यवसायका साथसाथै राजनीतिलाई पनि उत्तिक्कै समय दिने गरेका छन् ।

‘आफ्नो व्यवसायलाई पनि समय दिनुपर्यो । ठुलो लगानी छ,’ मिश्रले भने, ‘साथै राजनीतिलाई पनि समय दिएको छु । नगरपालिकामा सेवाग्राहीलाई आवश्यक सेवा दिन पनि पुगेकै हुन्छु । पार्टी कार्यालयमा पनि वसेकै हुन्छु ।’

‘सभापति व्यवसायिक कृषिमा लागेको छ । अव हामी पनि व्यवसायिक कृषिमा लाग्नुपर्यो भन्छन् साथीहरु’ मिश्रले भने, ‘यस्तो सुन्दा खुशी लाग्छ ।’

अण्डा विक्रीवाटै मासिक ३ लाख आम्दानी
द्धारिक मिश्रले पाउँदीमा ४ रोपनी जग्गा भाडामा लिएर कुखुरा पालन गरेका हुन । फार्मममा ४ वटा टहरा रहेका छन । ७५ फिट लम्वाई र २० फिट चौडाईको २ वटा टहरा, १०० फिट लम्वाई र २० फिट चौडाईको एउटा टहारा र ६० फिट लम्वाई र २० फिट चौडाईको अर्को टहरा छ । कामदारको आवासका लागि एक कोठा, स्टोर कोठा र अण्डा संकलन कोठा गरी तीन कोठे एउटा घर छ । भौतिक संरचना तयार र कुखुरा खरिद गरी ३३ लाखभन्दा वढिको लगानी रहेको उनको दावी छ ।
khukhura-palan (1)१ हजार लेयर्सवाट व्यवसाय शुरु गरेका उनको फार्ममा अहिले ३ हजारभन्दा वढि ‘हाईलेन’ जातका लेयर्स कुखुरा छन । कुखुरा फार्मवाट दैनिक दुई हजार ६ सय भन्दा वढि अण्डा उत्पादन हुने गर्छ । उनले एक प्याक अण्डालाई २ हजार ३ सयमा वेच्छन् । एक प्याकमा २ सय १० वटा अण्डा राखिएको हुन्छ ।
‘वाह्य उत्पादनहरुले स्थानीय उत्पादनलाई केही समस्यामा पार्छ । किसानले भनेजस्तो वजारभाउ पाउन त सकका छैनैन्,’ ४९ वर्षिय कृषक मिश्रले भने । उनले अण्डा विक्रीवाटै सवै खर्च कटाएर मासिक ३ लाखभन्दा वढि आम्दानी गर्दछन् ।

‘अहिले अण्डाको माग वजारमा उच्च छ । त्यसैले पनि आम्दानी राम्रो छ,’ उनले मुस्कुराउँदै सुनाएँ, ‘अण्डा विक्रीवाट अहिले मासिक ३ लाखभन्दा वढि आम्दानी हुने गरेको छ ।’

आम्दानीवाट विगतमा डुवेको सावाँ व्याज तिर्न सजिलो भएको छ । परिवार चलाउन छोराछोरीको पढाई खर्च जुटाउन सजिलै भएको छ । मिश्रका छोरा सुजन मिश्रले रामपुर क्याम्पसवाट विशिष्ट श्रेणीमा विएस्सीएजी उतीर्ण गरेका छन ।

एमएस्सीको तयारीमा जुटेका छन्, अहिले उनी । जेठी छोरी पूजा मिश्र व्यवस्थापन संकायअन्तर्गत तेश्रो वर्षको परीक्षा सकाएर वसेकी छिन् । भने कान्छी छोरी सुजाता प्लस टुको परीक्षा दिएर वसेकी छिन् ।

लेयर्स पाल्दा फाइदै फाईदा
व्रोईलर कुखुराको तुलनामा लेयर्स कुखुरा पाल्दा फाईदा हुने उनको तर्क छ । उनले भने, ‘लेयर्सले दैनिक आम्दानी दिन्छ । मल पनि उच्च मूल्यमा विक्री हुन्छ । पछि मासुको रुपमा लेयर्स खपत हुन्छ । त्यसैले किसानलाई लेयर्स पाल्दा फाईदा मिल्छ ।’

किसानका समस्या
सम्वन्धित निकायवाट प्राविधिक सेवा नपाउँदा आफुहरु समस्या पर्ने गरेको द्धारिकाको भनाई छ । कुखुरा पालनमा उच्च लगानी छ । जोखिम पनि उत्तिक्कै छ । आम्दानी पनि राम्रो छ । तर किसानले समयमा नै प्राविधिक सेवा पाउन नसक्दा लगानी डुव्ने डर रहन्छ । चर्को मूल्य तिरेर प्राविधिक वाहिरवाट ल्याउनुपर्ने तीतो यथार्थ उनले विग एफएमलाई सुनाए ।

‘राज्यले किसानका हितमा प्रभावकारी नीती वनाई कार्यान्वयन गरिदिए, पैशाका लागि विदेश जानेहरु रोकिन सक्छन् । मुलुकमा कृषिको विकास हुन सक्दछ,’ उनले मुख खाले ।

अर्को एक प्रसंगमा उनले विदेश जानेहरुको लागि पैशा दिन तयार हुने तर स्वेदशमै लगानी गर्न चाहनेलाई लगानी गर्न मान्छेहरु हिच्किचाउने चलन रहेको वताए । यो परिपाटी हट्नु आवश्यक रहेकोमा उनले जोड दिए ।

मनमा भए जाँगर, घरमै मिल्छ रोजगार
मनमा जोस जाँगर हुने हो भने यही माटोमा हिरा फलाउन सकिने दृढता उनले व्यक्त गरे । ‘युवा शक्ति ठुलो संख्यामा विदेश हानिएका छन्,’ उनले भने ‘युवाहरुलाई व्यवसायिक कृषिमा नल्याई मुलुकको समृद्धि सम्भव छैन ।’ आवश्यक ज्ञान, सीप लिएर मात्रै कृषिमा लगानी गर्नु उचित हुने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
Share: