
असार १० गते-
पोखराको पामेदेखि सराङकोटसम्म चल्नेगरी आगामी भदौदेखि केबुलकार निर्माणको काम थालिने भएको छ ।
अन्नपुर्ण केबलकार प्रालिले पर्यटक तथा स्थानीय बासिन्दालाई लक्षित गरी सराङकोटसम्म केबुलकार निर्माण गर्ने भएको हो । यो केबुलकारमा जापानी नागरिकता त्यागेर नेपाली बनेका टाकासी मियाहराको लगानी रहनेछ ।
सराङकोटमा सुविधा सम्पन्न होटल निर्माण गरिरहेका उनले होटललाई समेत लक्षित गरेर केबुलकार निर्माण गर्न लागेका हुन् । केबुलकार निर्माणका लागि करिब ६० करोड रुपैंया लागत अनुमान गरिएको छ ।
निर्माण सुरु भएको १८ महिनाभित्रै केबलकार सञ्चालन गर्ने लक्ष्य राखिएको यो आयोजना मनकामना केबुलकारको संचालक संस्था चितवन कोर्इले निर्माण गर्नेछ ।
केबुलकार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तीको काम लगभग सकिएको छ । केबलकार लागि आवश्यक पर्ने सामग्रि भने जापानको निपोन केबल कम्पनीबाट आपूर्ति हुनेछ ।
केबुलकार सञ्चालन भएपछि दैनिक १३ सय भन्दा बढी यात्रुले सेवा पाउनेछन् । यो केबुलकार सञ्चालन गर्न ५२५ केभिए विद्युत आवश्यक पर्नेछ भने केवलकारमा ५५ जनाले रोजगारी पाउनेछन् ।
