छोरेपाटन सडकमा नाला खन्दै, पुर्दै

Share:

रञ्जन अधिकारी पोखरा, २४ असार / पोखराको मुख्य बजार क्षेत्रकै सडकको दायाँबायाँ नाला छैन । भारी वर्षा हुनुपर्छ, पोखराका सडकमा खोलो नै बग्छ । वर्षायाममा सडकमा गुड्ने होस् या फुटपाथमा हिँड्ने होस्, भेल छिचोले जसरी हिँड्नुपर्ने बाध्यता छ । पानीको निकास नहुँदा स्थानीयले नै सास्ती खेप्छन् । तर, पोखरा १७ छोरेपाटनमा भने सडकमा खनिएको नाला नै पुरिएको छ । केहि स्थानीयको चर्को विरोधले खनिसकेको नाला नै पुर्न बाध्य भएको सडक विभाग, पोखराले जनाएको छ । यसरी बजेट खर्च हुनु कसैका लागि फाईदाजनक होईन ।

स्थानीयले नाला खन्न नदिनुको कारण भने सडक दायाँ बायाँलाई एउटै मापदण्ड कायम नगरेर हो । सबैको हकमा एकै मापदण्ड हुनुपर्ने प्रभावित स्थानीयको माग छ । सडक विभागले भने अहिलेको मापदण्ड अनुसार नै अघि बढेको जनाएको छ । प्रत्येक घरधनीको आग्रह अनुसार सडक बनाउने, फराकिलो पार्ने काम नहुने विभागले स्पष्ट पारेको छ । स्तरोन्नति र व्यस्त सडकमा स्थानीयकै माग बमोजिम ढल निकास, नाला निर्माण गरेको विभागले जनाएको छ ।

?

सिद्धार्थ राजमार्ग अन्तर्गत बरको बोटदेखि डेभिडफल्ससम्म दुई सय मिटर सडक खण्डमा दक्षिण (दायाँ) तर्फ नाला बनाउने कार्य सुरु भएको थियो । २० लाख बजेटमा विवेक विल्डरले ठेक्का पाएर ५० मिटरसम्म नाला खनिसकेको अवस्थामा स्थानीयको चर्को विरोध भएपछि सो कार्य स्थगन मात्र गरिएको छैन, खनेको नाला समेत फेरि माटोले पुरेर पुर्ववत् अवस्थामै फकाईएको छ । सडकको केन्द्रभागदेखि १२.५ मिटरमा नाला खनेपछि विरोधमा उत्रेको स्थानीय थमनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडकको अर्को तर्फ केन्द्रभागदेखि ९ मिटरमात्र छाडिएको छ । ‘कसरी एउटै सडकको दुई तर्फ फरक मापदण्ड लागु हुन्छ ? उनले भने– ‘यता पनि नौ मिटर नै कायम गरियोस् वा उता पनि एकैपटक साढे १२ नै बनाईयोस् । नत्र, सडकको केन्द्र विन्दु यता सर्छ, हामी पीडित हुन्छौं ।’

सडक विभाग कार्यालय, पोखराका प्रमुख नरेन्द्र सुवेदीले स्थानीयसँग सहमति भईसकेकाले अब पुनः नाला खन्ने कार्य सुरु हुने बताए । ‘आफ्नो घर, पेटी नै जान सक्ने भएकाले स्थानीयको विरोध स्वभाविक नै हो । तर, सबैले विरोध गर्नुभएको छैन ।’ सुवेदीले भने– ‘समितिका पदाधिकारीसँगै छलफल गरेर अघि बढ्ने सहमति भईसकेको छ ।’

गत असार १२ गते नाला निर्माण गर्दा असर पर्ने घरधनीहरुको भेला बसेर एक समिति निर्माण गरेको थियो ।सु. लालकाजी गुरुङको संयोजकत्वमा नारायणप्रसाद शर्मा, डिकबहादुर केसी, विष्णुहरि बराल र विष्णुकुमारी थापा सदस्य रहेको पाँच सदस्यीय समन्वय समिति गठन गरेको हो । अहिले भने संयोजक गुरुङ, सदस्यहरु शर्मा र केसी खन्न दिने निर्णयमा पुगेका छन् ।

प्रभावित स्थानीयको भेलाले बराल फिड देखि भ्याग्लुङ खोलासम्म सडक दायाँबायाँ १५÷१५ मिटर रहेको र सोहि सडकको बायाँ (उत्तर खण्ड) नौ मिटर मात्र छाडेको अवस्थामा १२.५ मिटरको मापदण्ड तोकेकोमा विरोध गर्दै सडक विभागमा अनुरोध गर्ने निर्णय पनि गरेको थियो । अन्तिममा संयोजक गुरुङ नै नाला निर्माण गर्न दिने निर्णयमा पुगेपनि ६२ घरपरिवार अझै नाला खन्न नदिने अडानमा रहेको बताईन्छ । उनीहरुले डोजर आए लखेट्ने चेतावनी दिन्छन् ।

संयोजक गुरुङले विकास विरोधी देखिने र सबैले छोरेपाटनबासीप्रति हेर्ने दृष्टिकोण नकारात्मक बनाउने भयले नाला खन्न दिने निर्णयमा पुगेको प्रतिक्रिया दिए । पाँच दर्जन घरधनीहरु विपक्षमा रहँदा रहँदै उनीहरुले नै बनाएको संयोजक कसरी विपक्षमा उत्रिनुभयो ? भन्ने प्रश्नमा गुरुङले भने– ‘छोरेपाटन उच्च माविमै सरोकारवाला पक्षको बैठक बसेर सहमति भयो । त्यहाँ भएको कुरा लामो छ । सबै भन्न सकिँदैन । विकास विरोधी भन्ने डरले नै यस्तो भएको हो । सकेसम्म नौ मिटर नै बनाउनुपर्ने वा अर्को तर्फ पनि साढे १२ नै हुनुपर्ने अडान मेरो अझै पनि छ ।’

आर्थिक वर्षको अन्त्यमा सडक मर्मत तथा स्तरोन्नति गरेर बजेट सक्न लागेको भन्ने आरोपको विभागका प्रमुख सुवेदीले खण्डन गरे । सडक मर्मत सम्भार अन्तर्गत विनियोजित बजेट ठेक्कापट्टा घटबढमा बचत भएको रकम मध्ये २० लाख रुपैंया छोरेपाटन क्षेत्रमा छुट्याईएको जनाए । उनले थपे– ‘ढिला हुनुको कारण पहिले हरेक योजनामा ठेक्का लाग्नुप¥यो । ठेक्का दिँदा कन्ट्रयाक्टर घट्छन् । त्यसैमा बचत रकम फेरि योजना आयोगमा कार्यक्रम संशोधन स्वीकृतिका लागि पठाएर आउँदा निश्चय नै ढिलो हुन्छ । बजेट सक्न अन्तिममा काम गरेको होईन । त्यहीपनि नाला जस्तो काम वर्षामा गरेपनि फरक पर्दैन ।’

यस्तै, छोरेपाटन ओरालो क्षेत्रमा सडक फराकिलो बनाउने काम सुरु भएको छ । स्थानीयले दुर्घटना अधिक भएपछि गरेको आग्रह अनुसार नै दायाँबायाँ नै सडक फराकिलो पार्ने काम भईरहेको प्रमुख सुवेदीले जनाए । सिद्धार्थ राजमार्गको सबै सडक बोर्डको स्वामित्वमा छ । पोखरामा करिब २७ किलोमिटर भित्रि सडकहरु र ३० किलोमिटर राजमार्ग डिभिजन सडकले मर्मत सम्भार गर्ने गर्छ ।

कमेन्ट गर्नुहोस्
Share: