तरकारी महंगो, फलफूलको भाउ उस्तै

Share:

रञ्जन अधिकारी  पोखरा, ७ साउन /  ‘अरुले देख्ने काम पनि छैन, फुर्सद पनि छैन ।’, ‘बिहानको त पकाईयो, भरे के पकाउने खोई ?’ गृहिणी महिलाबीच प्रायः यस्तै गफगाफ हुने गर्छन् । अर्को छाक के तरकारी पकाउने चिन्ता त छँदैछ, तरकारीको चर्को भाउले किन्नै नसकिने अवस्था छ । यस वर्ष तरकारीको भाउ आकाशिएको छ । गत वर्षको तुलनामा अहिले केही तरकारीमा अस्वाभाविक मूल्यवृद्धि भएको छ ।

सामान्यतयाः अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष सिजनकै तरकारीहरु पनि अत्याधिक महंगा भएका छन् । वर्षाकै सिजनमा उत्पादन हुने तरकारी नै महंगो मूल्यमा किन्नुपरेपछि उपभोक्ताहरु मर्कामा परेका छन् । यद्यपी, असारको अन्तिम साता भन्दा अहिले तरकारीको भाउमा केहि कमी आएको छ । यो सिजनमा घिरौंला, चिचिण्डा, लौका, तितेकरेला जस्ता तरकारी सस्तो हुनुपर्ने हो । तर गत वर्ष ३० देखि ४० रुपैंया प्रतिकेजी पर्ने गरेकोमा यस वर्ष थोक बजारमै ४० देखि ६० रुपैंया रहेको छ । आलुको मूल्य पनि गत वर्षको भन्दा लगभग आधा बढि रहेको छ । आलुको भाउ पोहोर भन्दा उस्तै महंगो छ ।

पोखराको सबैभन्दा ठूलो कृषि उपज बजारमा अफसिजनका काउली, गोलभेडाको भाउ पनि गत वर्षको तुलनामा महंगो छ । सब्जीमण्डीमा ७० देखि ८० रुपैंया प्रतिकेजी पर्ने काउली बाहिर उपभोक्ताले किलोकै एक सय रुपैंया तिर्नुपरेको छ । टमाटरको भाउ १ सय पुगेकोमा घटेर अहिले सानोको बढिमा ८५ र ठुलोको बढिमा ६० रहेकोमा थोक बजार बाहिर एक सय रुपैंया घटी पाईंदैन । वर्षाको समयमा पाइने भटमासको कोसा, गाँजर, पाकेको फर्सी, भिण्डी, भेण्टा, बोडी पनि गत वर्षभन्दा महंगो छ । मुलाको अधिकतम मुल्य ४० र गाँजरको १२० छ । खुद्रा बजारमा ५० देखि १४० सम्म तिर्नुपर्ने अवस्था छ । प्याज, लसुन पनि आधा भन्दा बढि महंगिएको छ ।

व्यापारीहरु उत्पादन कम भएकाले मूल्य आकाशिएको बताउँछन् । सब्जीमण्डीकै तरकारी व्यापारी गोविन्द पोखरेलले पोहोरको तुलनामा तरकारीको भाउ आकाशिएपनि घट्ने क्रममा रहेको बताए । ‘असार १५ पछि त गोलभेडा, काउली, गाँजरको भाउ त छोई नसक्नु थियो । यहीं एक सय रुपैंया पथ्र्यो’ उनले भने– ‘यहाँ किनेर लगेर बेच्नेहरुले कति नाफा खाएर उपभोक्ता मारमा परे होलान् ।’ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष रुद्र खनाल भने यो सिजनमा घिरौंला, चिचिण्डा, लौका, करेला बाहेकका तरकारीहरु महंगो नै हुने बताउँदै अन्य तरकारीको भाउ केहि बढेको बताए । ‘नाकाबन्दीको कारण पनि बिउ, मलको समस्याले यो अवस्था आएको हो ।’ – उनले भने– ‘त्यसमाथि पानी ढिलो परेको अवस्था थियो । असिनापानीको कारणले पनि क्षति पुग्यो ।’

बाहिरी जिल्लाहरुबाट आयात गर्नुपर्ने कारण ढुवानी खर्चले पनि तरकारी महंगो भएको व्यवसायीको भनाई छ । सस्तो बजारमा खुद्रा तरकारी विक्री गर्दै आएका नारायण लम्सालले आफुहरुले किन्दा नै महंगो परेको बताउँछन् ।

पोखरामा सानो गोलभेडा काठमाण्डौबाट ल्याईने गरेको छ । ठुलो गोलभेडा दाङ, धनकुटा, हिलेबाट आयात गरिने गरेको छ । काउली बन्दा, मुला, धनियाँ, खुर्सानीहरु मकवानपुर, पालुङबाट ल्याईने व्यवसायीले बताए । यस्तै, घिरौंला, चिचिण्डा, काँक्रो, करेला, खुर्सानी धादिङबाट ल्याईन्छ । स्थानीय क्षेत्र हेम्जा, बहुमारा, मालेपाटनबाट घिरौंला, करेला, बोडी, भेण्टा तथा साग, फर्सी मुण्टा आउने गरेको व्यवसायीले बताए । कृषि उपज बजार भन्दा बाहिर किलोकै १० रुपैंया बढि उपभोक्ताले तिर्नुपरेको छ ।

तर, फलफूलको भाउ भने गत वर्षको तुलनामा घटबढ छैन । प्रायः एकै स्थानबाट ल्याईने गरेको र उत्पादन पनि समानजसो भएकाले भाउ तलमाथि नभएको व्यवसायीले बताए । राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष कुमार लामाका अनुसार केरा दर्जनको बढिमा ७० रुपैंया छ । बाहिर उपभोक्ताले भने मालभोग केराको एक सयसम्म तिर्नुपर्ने अवस्था छ । झोले, डेली, फुजी, निशा, डल्लो लगायतका स्याउहरु थोकबजारमै कार्टुनको १३०० देखि १५५० तोकिएको छ । आँप ७५ रुपैंया, कटहर ४० तथा नास्पाती प्रतिकिलो ४५ बजारभाउ तोकिएपनि उपभोक्ताले २० प्रतिशत महंगोमा किन्नुपर्ने अवस्था छ । नास्पाती धादिङ, गोरखा र कास्कीबाट, केरा नवलपरासीको त्रिवेणी, चितवन, भारतबाट पोखरा भित्रिन्छ भने अहिले बजारमा चाईनिज स्याउ विक्री भईरहेको छ । केहि सातापछि हिमाञ्चल प्रदेश भारतबाट र एक महिनापछि नेपालकै मार्फा स्याउ भित्रिनेछ । त्यसपछि फलफुलको भाउ कम हुने व्यवसायी बताउँछन् । मूल्यवृद्धि भने तत्कालै रोकिने स्थिति देखिँदैन ।

कमेन्ट गर्नुहोस्
Share: