
पोखरा २० साउन । अग्रज पत्रकार रुद्रबहादुर थापा बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार –२०७३ बाट सम्मानित भएका छन् । पोखरा एक्सप्रेस पत्रिकाका संस्थापक प्रकाशक तथा प्रधान सम्पादक स्वर्गिय बालकृष्ण उग्रताराको स्मृतिमा उनको परिवारद्धारा स्थापित तथा सोहि पत्रिकाद्धारा संचालित पुरस्कारबाट विहिवार थापालाई सम्मान गरिएको हो ।
प्रेस स्वतन्त्रताका सेनानी केशबराज पराजुलीले थापालाई नगद २० हजार १ सय ११ रुपैया र सम्मानपत्र सहित सम्मान गरे । पत्रकार तिलक पराजुलीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले थापालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । थापा मगर पत्रकार संघ कास्कीका अध्यक्ष हुन् । पोखराको आदर्शसमाज दैनिकमा सहायक सम्पादक समेत रहेका थापा हालैमात्र २५ वर्ष सेवा गरी निवृत्त भएका थिए । उनी साहित्यकार समेत हुन् ।
पश्चिमाञ्चलमा क्रियाशिल कम्तीमा १५ बर्ष पत्रकारिता गरेका पत्रकारलाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ । यो पुरस्कारबाट यसअघि पाल्पाका मेघराज शर्मा, कास्कीका कुशुमकेशव पराजुली, पर्वतका भोलानाथ शर्मा कास्कीका नवराज सुवेदी र नारायण कार्की सम्मानित भैसकेका छन् ।
कार्यक्रममा पुुरस्कृत ब्यक्तित्वको बारेमा स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्ण प्रसाद वास्तोला, स्व. वालकृष्ण उग्रताराको बारेमा पत्रकार नवराज सुवेदीले जानकारी गराएका थिए ।
