
काठमाडौँ, २५ साउन-
नेपाल काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११ औं महाधिवेशनको बन्दसत्र भोलि बुधबार हुने भएको छ ।
महाधिवेशन प्रतिनिधि विवादका कारण निर्धारित समयमा हुन नसकी स्थगित हुँदै आएको नेवि सङ्घको महाधिवेशनको बन्दसत्र भोलि दिउँसो १२ बजेपछि हुने अध्यक्ष रन्जित कर्णले जानकारी दिए ।
सङ्घको महाधिवेशन उद्घाटन यही साउन २३ गते भए पनि निर्धारित समयमा बन्दसत्र हुन नसक्दा मुलुकभरबाट आएका हजारौँ विद्यार्थी नेता कार्यकर्ता निर्वाचन हुने/नहुने भन्ने अन्यौलमा देखिन्छन् ।
सङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले आज रातभरिमा विवादित जिल्लाका महाधिवेशन प्रतिनिधिको विवाद टुङ्गो लगाई भोलि बन्दसत्र गर्ने तयारीका साथ काम गरिरहेको जनाएको छ ।
प्रतिनिधि विवादित ११ जिल्लामध्ये आधाभन्दा बढी जिल्लाको विवाद मिलिसकेको र बाँकी पनि समाधानउन्मुख रहेको समिति सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।
पार्टीले नेवि सङ्घको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न नेता डा. प्रकासशरण महतको संयोजकत्वमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल सदस्य रहेको निर्देशन समिति गठन गरेको थियो ।
