मिल्यो नेविसंघको विवाद, भोलि उम्मेदवारी दर्ता र पर्सी चुनाव हुने

Share:

काठमाडौं, २६ साउन-
नेपाल विद्यार्थी संघको प्रतिनिधि छनौट विवाद मिलेको छ । विवाद मिलेसँगै आजै प्रतनिधिहरुको सूची प्रकाशित गरिनेछ भने भोलिवाट नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी छ ।

निर्देशक समितिको बैठकमा राति २ बजेतिर सहमति भएको कांग्रेस केन्द्रीय सदस्य एवं निर्देशक समितिका सदस्य प्रदिप पौडेलले अनलाइनखबरलाई बताए । उनले भने, विवाद मिलेको छ । आजै भोटर लिस्ट प्रकाशित हुन्छ ।’

पौडेलका अनुसार अनसनकारीहरुको अधिकांश माग सम्बोधन भएको छ । र, आजै अनसन तोडाउने तयारी छ । प्रतिनिधि छनौट फर्जी भएको लगायतका माग राख्दै नेताहरु अनसनमा बसेका थिए । यो विवाद पार्टीको गुटहरुसम्म जोडिएकाले अधिवेशन उद्घाटन भएको दुई दिनसम्म पनि बन्द सत्र सुरु हुन सकेको थिएन ।

१३ जिल्लाको नेतृत्व खारेज गर्नु पर्ने मागबारे अब बन्ने केन्द्रीय समितिले अध्ययन गरेर गलत देखिए खारेज गर्ने सहमति भएको छ । ११ जिल्लाको सहभागिताका सन्दर्भमा छुटेका स्वभाविक नेताहरुलाई समावेश गर्ने समझदारी भएको छ ।

प्रतिनिधिहरुको सूची सार्वजनिक गरेपछि आजै केहीबेर बन्द सत्र गराउने तयारी छ । नेतृत्व चयन प्रक्रिया भोलिबाट सुरु हुनेछ । भोलि मनोनयन दर्ताको सबै प्रक्रिया पुरा गरेर पर्सी चुनाव गर्ने तयारी छ ।

कमेन्ट गर्नुहोस्
Share: