‘मेलोडी अवार्ड’ तीर्थ तामाङलाई दिईने

Share:

पोखरा, १३ भदौ-
गजल रेस्टुरेन्ट ‘मेलोडी क्याफे’ले दोस्रो वार्षिकोत्सवको अवसर पारेर यो प्रदेशको एक जना स्रष्टालाई ‘मेलोडी अवार्ड’ प्रदान गर्ने भएको छ । मेलोडी अवार्ड अन्तरगतको पहिलो अवार्ड गीतकार तीर्थ तामाङले प्राप्त गर्ने भएका छन् ।

आयोजक मेलोडी क्याफेले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर अवार्डको बारेमा जानकारी दिएको हो । अवार्डको क्रममा तामाङलाई २५ हजार ५ सय २५ रुपैयाँ नगद सहित सम्मान गरिने उसले जनाएको छ ।

४० को दशकको शुरुवातसँगै गीत लेखन थालेका तामाङले पाउने संभवत यो पहिलो अवार्ड हो । उनले लेखेका थुप्रै गीतहरु हिट छन् । कर्ण दास, विवेक श्रेष्ठ, विनोद बाँनियाले पनि उनको शब्दमा स्वर भरेका छन् । आगामी भदौ २१ गतेका दिन तामाङलाई एक विशेष समारोहका बीच अवार्ड प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

एउटा व्यवसायिक रेस्टुरेन्टले साँगीतिक अवार्ड प्रदान गर्न लागेको करिब नेपालमै यो पहिलोपटक हो । विशेषगरि साँगीतिक रेस्टुरेन्ट भएको कारणले पोखराको ‘मेलोडी क्याफे’ले यो अवार्ड कार्यक्रम गर्न लागेको हो । हरेक दुई वर्षको बीचमा क्याफेले यो अवार्ड प्रदेश नम्बर चारका विभिन्न विधाका स्रष्टाहरुलाई वितरण गर्ने जनाएको छ ।

शेखर शेरचन, गणेश बसौला, अशोककुमार गुरुङ र विनोद बाँनिया मिलेर दुई वर्ष अगाडि मेलोडी क्याफे एण्ड लाउन्ज बार संचालनमा ल्याएका हुन् । साँगीतिक रेस्टुरेन्टको भीडमा छोटो समयमै चर्चामा आएको यो रेस्टुरेन्टले सामाजिक उत्तरदायित्वको वहन गर्ने हिसाबले अवार्ड कार्यक्रम गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: