
काठमाडौं, ३ असोज-
भनिन्छ, राणा प्रधानमन्त्री जुद्ध शमशेरले पहिलोपटक देशमा सवारी साधन भित्र्याएका थिए । त्यतिखेर राणा प्रधानमन्त्री शमशेरले शौखका लागि बेलायतबाट भारत हुँदै नेपालमा गाडी प्रवेश गराएका थिए । र, त्यसलाई भरिया लगाएर काठमाडौं ल्याइएको थियो ।
आधिकारिक रुपमा सवारी साधनको आयात विवरण र दर्ता प्रक्रिया भने आर्थिक वर्ष २०४६/४७ सालबाट सुरु भएको देखिन्छ । झण्डै २५ वर्षको समयमा नेपालमा कति सवारी भित्रिए होलान् ? त्यसमा पनि कुन सवारी साधन बढी होलान् ? अनुमान लगाउन सक्नुहुन्छ ?
यातायात व्यवस्था विभागका अनुसार नेपालमा दर्ता भएका सवारी साधनको संख्या २३ लाख पुगेको छ । यो संख्या तपाईले अनुमान गरे अनुसार नै होला तर, यसको बढ्दो दर भने अप्रत्यासित नै देखिएको छ । र, हाम्रो सडक विस्तारको गति भन्दा धेरै गुणाले तीव्र गतिमा छ ।
७८ प्रतिशत मोटरसाइकल
विभागले दिएको तथ्यांक अनुसार अहिलेसम्म २३ लाख ३९ हजार १६९ सवारी दर्ता भएका छन् । त्यसमा पनि निजी सवारी सवारीसाधन प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो छ । विभागमा दर्ता संख्यालाई हेर्दा नेपालका सडकमा गुड्ने सवारीमा ७८ प्रतिशत भन्दा बढी मोटरसाइकल छन् ।
निजी प्रयोजनमा आउने सवारीको संख्या २० लाख २७ हजार ५६ रहेको छ । यो संख्या कुल सवारीको ८६.६५ प्रतिशत हुन आउँछ । जसमा १८ लाख ३५ हजार २८ त मोटरसाइकल मात्र छन् ।
कार, जिप र भ्यानको संख्या भने १ लाख ९२ हजार २८ छ । सार्वजनिक सावारी साधनको यात्रा कष्टकर र असुरक्षित हुँदा निजी सवारी साधन प्रति सर्वसाधारणको आकर्षण बढेको पाइन्छ । त्यसमा पनि समयमै कार्यालयको काममा पुग्न र काठमाडौं तथा शहरी क्षेत्रको जामबाट मुक्त पाउनका लागि पनि बाइक प्रयोग गर्नेहरुको संख्या बढ्दो छ ।
मध्यमवर्गीय परिवार भने कारतिर जाने क्रममा छन् । यसमा बैंकहरुले दिने ‘अटो लोन’ तुलनात्मक रुपमा सस्तो इन्ट्री लेभलको कारको नेपाली बजारमा प्रवेशले पनि आकर्षित गरेको छ । – अनलाइनखबर
