
श्यामशीत्तल परियार
लमजुङ, ७ असोज-
मूल बीउ संरक्षणका लागि लमजुङका कृषि समूह तथा कृषि सहकारी संस्थाहरु लागिपरेका छन् । पछिल्लो समय गाउँघरबाट मूल बीउ हराउँदै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै यसको संरक्षणमा जुटेको उनीहरु बताउँछन् । हाईब्रिड बीउको बढ्दो प्रयोगसंगै स्थानीय बीउ बिस्तारै हराउँदै गएकोमा उनीहरुले गहिरो चिन्ता समेत व्यक्त गरेका हुन् ।
‘हाईब्रिड बीउको बिक्री वितरण नगर्ने प्रयासमा छौँ,’ व्यवसायिक योजना तर्जुमा सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक तालिममा सहभागि सुन्दर बीउ उत्पादक कृषि सहकारी संस्थाका सदस्य शिव कुमार पोख्रेलले भने, ‘त्यसैले हामीले अब स्थानीय जातको बीउलाई सुधार गरी उन्नत जातमा बदल्नु आवश्यक छ । यसले मुल बीउलाई बढावा दिन्छ । त्यो प्रयासमा हामी छौँ ।’
स्थानीय जातको बीउबाट उत्पादित तरकारी तथा अन्न स्वाद र स्वास्थ्य दुवै दृष्टिले महत्वपुर्ण भएकाले स्थानीय जातको बीउ पनि संरक्षण गर्नु आजको आवश्यकता रहेको ४५ वर्ष कृषि क्षेत्रमा काम गर्नुभएका कृषि विज्ञ ईन्द्रराज पाण्डेले बताए । उन्नत जातको बीउको सा्रेत नै मूल बीउ रहेकाले यसको संरक्षणमा सरकार गम्भिर नरहेको उनको गुनासो छ ।
सामथ्र्य नेपाल विकास कार्यक्रमका वरिष्ठ सल्लाहकार समेत रहेका उनले स्थानीय बीउमा रोग र किरा सहन सक्ने क्षमता भएकाले लामो समय भण्डारण गर्न सकिने उल्लेख गरे ।
मूल बीउको संरक्षणमा आफुहरु पनि लागिपरेको तार्कुघाटमा रहेको मिलजिुली कृषि सहकारीकी लक्ष्मी अधिकारीेले जनाए ।
बीउ संरक्षणका लागि ३ वर्षे कार्ययोजना निर्माण
मूल वीउ तथा उन्नत जातको बीउ उत्पादन, संरक्षण र वितरणसम्वन्धी जिल्लास्थित कृषि समूह तथा सहकारीहरुले तीन वर्षे कार्ययोजना समेत बनाएका छन् । मूल बीउ संरक्षण, उत्पादन र वितरणका लागि लमजुङका जनविकास सहकारी संस्था चक्रतिर्थ, मिलिजुली कृषि सहकारी संस्था तार्कुघाट, सुन्दर बीउ उत्पादक कृषि सहकारी संस्था पाउँदी, जनजागृति मिश्रित कृषक समूह परेवाडाँडा र बिलमाघे मूलपानी पाटने सिंचाई जल उपभोक्ता समूहले तीन वर्षे कार्ययोजना बनाएका हुन् ।
कार्ययोजना निर्माणमा सामथ्र्य नेपाल बजार विकास समितिका वरिष्ठ सल्लाहकार ईन्द्रराज पाण्डे र बजार विशेषज्ञ श्रmृषिराज कोईरालाले सघाएका थिए ।
कृषि समूह तथा सहकारीले आफ्नो गाउँ/ठाउँमा उच्च माग भएअनुसारका तरकारी तथा अन्नबालीको मूल बीउ उत्पादन, संरक्षण र वितरण सम्बन्धी योजना बनाएका हुन् ।
कार्ययोजना अनुसार काम गर्दा लक्ष्यमा पुग्न सकिने बजार विशेषज्ञ कोईरालाले बताए ।
‘स्थानीय जातको बीउको मात्रै भर पर्दा उत्पादन कम हुन्छ । यसैलाई सुधार गरि तयार पारिएको उन्नत जातको बीउ प्रयोग गर्दा उत्पादनमा समेत वृद्धि हुन्छ । त्यो दूरदराजका कृषकहरुले बुझ्न सकेका छैनन्,’ उनले भने ।
लाखौँ खर्चेर बीउ तथा अन्न भण्डार भवन निर्माण
बैशाख १२ को भुकम्प, त्यसपछिका पराकम्पका कारण धेरै ठाउँमा रहेका बीउहरु पुरिए । त्यसैले बीउ संरक्षणका लागि भन्दै सामथ्र्य नेपालको आर्थिक सहयोगमा अन्य जिल्लामाझैँ लमजुङमा पनि ५ वटा बीउ तथा अन्न भण्डार भवन निर्माण गरिएको छ ।
संस्थाले तार्कुघाट, चक्रतिर्थ, पाउँदी, सोतीपसल र परेवाडाँडामा लाखौँ खर्चेर छुटछुट्टै तीन कोठे पक्की भवन बनाईएको छ ।
भवनमा राखिएका बीउ तथा अन्न भुकम्प, किरा र मुसाबाट जोगाउन सकिने भएकाले बीउ भण्डार भवन निर्माण गरिएको सामथ्र्य नेपालले जनाएको छ । संस्थाले बताएअनुसार प्रति भवन निर्माणमा ३० देखी ३५ लाख खर्च भएको छ ।
