स्थानीयको विरोधपछि पोखरा-पामे-घाँटीछिना रुटमा नियमित गाडी चल्न थाले

Share:

नवराज ढुङ्गाना
पोखरा, ८ असोज-
नियमित गाडी सञ्चालन नहुँदा समस्या भएको भन्दै स्थानीय बासिन्दाले दुई दिनसम्म यातायात ठप्प पारेपछि पोखराको हल्लनचोक–भकुण्डे–पामे–ठूलाखेत–घाँटीछिना रुटमा शनिबार बिहानदेखि नियमित गाडी चल्न थालेका छन् ।

यसअघि गत महिना यो रुटमा आधा घण्टाको फरकमा गाडी सञ्चालन गर्ने सहमती भएपनि कार्यान्वयन नभएको भन्दै स्थानीय बासिन्दाले विरोधस्वरुप हिजो र अस्ति गाडी बन्द गराएका थिए । स्थानीयको विरोधपछि हिजो यातायात व्यवसायी र स्थानीयबीच वार्ता भएको थियो ।
वार्तामा शनिबारदेखि नियमितरुपमा हल्लनचोक–पामे रुटमा प्रत्येक आधा घण्टामा र हल्लनचोक घाँटीछिना रुपमा प्रत्येक एक घण्टामा गाडी छुटाउने सहमती भएको भकुण्डेका स्थानीय बासिन्दा शंकरराज अधिकारीले जानकारी दिए ।

यस्तै, नियमितरुपमा गाडी चले नचलेको अनुगमन गर्न स्थानीय राजेन्द्र अधिकारीको संयोजकत्वमा निरीक्षण समिति समेत गठन गरिएको छ । हल्लनचोक–भकुण्डे–पामे–ठूलाखेत–घाँटीछिना रुटमा पोखरा बस व्यवसायी समिति, पृथ्वी राजमार्ग बस सञ्चालक समिति र विन्दवासिनी यातायात गरी ३ वटै समितिका बस सञ्चालन हुँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: