
असोज ९ गते-
यति एयरलाइन्सको विमान भैरहवामा दुर्घटना भएको भोलीपल्टै आइतबार सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना भएको छ ।
सोलुखुम्बुको जुभीङबाट बिरामी लिएर उडेको माउण्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । नाइन एन अल्फा लिमा क्युबिक कल साइन हेलिकोप्टर दुर्घटनामा परेपनि हेलिकप्टरमा सवार सबै ६ जना सकुशल रहेका छन् ।
उड्ने क्रममा जमिन छाडेको केही सेकेण्डमै इन्जिन बन्द भएपछि पाइलटले हेलिकोप्टरलाई आकस्मिक अवतरण गराएका थिए । हेलिकोप्टरलाई पाईलट सुरेश थापाले उडाएका थिए । आकस्मिक अवतरणका क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षति पुगेको छ ।
आइतबार बिहान करिब साढे ७ बजे हेलिकप्टर दुर्घटना भएको हो । हेलिकोप्टर लुक्ला बिमानस्थलबाट बुक्सा आएको थियो । बिरामीसहित ४ जना लिएर पुनः लुक्ला उडेको सो हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनापछि श्री एयरको हेलिकोप्टरले सबैलाई उद्धार गरी लुक्ला पुर्याएको छ ।
