
पोखरा, ११ असोज–
कास्कीमा ३७औँं विश्व पर्यटन दिवसका अवसरमा पोखरा विमानस्थलबाट पोखरा आएका पर्यटकलाई आज भव्य स्वागत गरिएको छ ।
पोखरा पर्यटन परिषद्को संयोजनमा पोखरामा पर्यटन संवद्ध सङ्घ संस्थाले पर्यटकको स्वागत गरेका हुन् । बर्सेनि विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउने पहिलो, दोस्रो र तेस्रो पर्यटकलाई विशेष उपहार दिने चलन अनुरुप कोरियाका नागरिक को यङ ही, किम योङ एन र काङ योङ एनलाई उपहार प्रदान गरिएको थियो ।
विशेष बाजागाजासहित सांस्कृतिक प्रस्तुतीका साथ गरिएको स्वागत समारोहमा पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापा, उपाध्यक्ष चिरञ्जीवी पोखरेल, महासचिव रामु गौतम, रेस्टुरेट एन्ड बार एसोसिएसन ९रेवान०पोखराका अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन कार्यलयका प्रमुख डोलराज ढकाललगायतले पर्यटकको स्वागत गरे ।
विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँबाट पोखरा हवाई मार्ग एवम् स्थल मार्गबाट आउने पर्यटकलाई स्वागत गर्ने प्रचलन अनुरुप आज स्वागत कार्यक्रम आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाले बताए ।
विश्व पर्यटन दिवसकै अवसरमा आजै साँझ पोखराको लेकसाइडमा एक दिने सडक महोत्सव आयोजना गरिएको रेवानका अध्यक्ष गुरुङले जानकारी दिए ।
