
नवराज ढुङ्गाना पोखरा, १३ असोज- चर्चित गायन रियालिटि शो ‘बिग आईकन’को सातौं संस्करणमा म्यागेजिन पार्टनरका रुपमा ‘वेभ म्यागजिन’ जोडिएको छ ।
पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ को आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको बिग आईकनमा यसपटक नेपालकै पुरानो यूथ म्यागजिन वेभले सहकार्य गर्ने सम्झौता भएको हो ।
काठमाण्डौंमा बिहीबार बिग एफएमका मार्केटिङ्ग म्यानेजर कमल बराल र ‘वेभ म्यागेजिन’ का मार्केटिङ्ग म्यानेजर दिपेशजङ्ग बुढाथोकीबीच सम्झौता भयो । सम्झौतापत्रमा हस्ताक्षरपछि विग एफएमका मार्केटिङ्ग म्यानेजर कमल बरालले बिग आईकनका संस्करणहरु थपिँदै गर्दा प्रत्येक वर्ष विभिन्न क्षेत्रबाट सहकार्यको हात अघि बढ्दै गएकोमा खुशी प्रकट गरे । यूवाहरुमाझ निकै लोकप्रिय तथा पुरानो म्यागजिन वेभसँगको सहकार्यले युवामाझ विग एफएमलाई झन् परिचित बन्न सहयोग पुग्ने बरालको भनाई छ ।
‘वेभ म्यागेजिन’ यूवा केन्द्रीत नेपालकै पुरानो म्यागेजिन हो र सन् १९९४ देखि नै यसले यूवा लक्षित सामग्रि प्रकाशन गर्दै आएको छ । यता ‘वेभ म्यागेजिन’ का मार्केटिङ्ग म्यानेजर बुढाथोकीले निरन्तर ६ बर्षसम्म गायन प्रतियोगिता आयोजना गरी उच्च स्थान ओगटिसकेको बिग आईकनमा जोडिन पाउँदा आफूहरु अत्यन्त खुशी भएको बताए । बिग आईकनको प्रभावकारिताले पनि आफूहरु यो ईभेन्टसँग जोडिन चाहेको उनको भनाई छ ।
गायन रियालिटि शो बिग आईकनको लागि अहिले आवेदन फाराम धमाधम वितरण भैरहेको छ । गायन प्रतिभाहरुका लागि आवेदन फाराम निःशुल्क भर्ने व्यवस्था गरिएको विग एफएमका अध्यक्ष महेश भण्डारीले जानकारी दिए । बिग आइकनको यसपटकको सँस्करणको अडिसन छिट्टै सुरु गरिने उनले बताएका छन् ।
