
रेम बिक
पोखरा, १६ असोज । बिग आइकनको पछिल्लो सिजनका लागि विश्वकै उत्कृष्ट ६ पेन्ट्स कम्पनीमध्ये एक ‘कान्साई पेन्ट्स नेपाल’ले बिग एफएमसँग सहकार्य गरेको छ । उसले ‘इन एशोसियसन विथ’ टाइटलमा बिग आइकनसँग सहकार्य गरेको हो ।
कान्साई पेन्ट्स नेपालका कन्ट्री हेड मनोजकुमार मिश्र र बिग एफएमका अध्यक्ष महेश भण्डारीबीच बिग आइकनका लागि यो व्यवसायिक सम्झौता भएको हो ।
कम्पनीले गायन रियालिटि शो बिग आइकनको प्रभावकारिता देखेर आफुहरु निरन्तर रुपमा ईभेन्टमा जोडिएको बताएको छ । ‘हामीले यो कार्यक्रमको प्रभावकारिता देखेका छौँ । र, एउटा उत्कृष्ट गायन रियालिटि शोसँग जोडिन पाउनु हाम्रो लागि पनि फाईदाकै कुरा हो ।’ सम्झौतापछि कम्पनीका कन्ट्री हेड मिश्रले भने ।
त्यस्तै बिग एफएमका अध्यक्ष महेश भण्डारीले विश्वको उत्कृष्ट ६ भित्र पर्ने रंग कम्पनीसँग सहकार्य गर्नु बिग आइकनको उपलब्धी भएको बताए । ‘यो कुराले के पुष्टी गर्छ भने हाम्रो ईभेन्टलाई विश्वस्तरका ठुला कम्पनीहरुले पनि हेरिराखेका छन् । उनीहरु हामीसँग सहकार्य गर्न आकर्षित भैराखेका छन् ।’ भण्डारीले भने–‘यो बिग आइकनले पाएको अन्तराष्ट्रियस्तरको उँचाईले मात्र सम्भव भएको हो ।’
बिग आइकनको सातौँ सँस्करणका लागि हालसम्म टेलिभिजन पार्टनरमा एभिन्यूज, म्यागेजिन पार्टनरमा वेभ, पावर्ड बाई टाइटलमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, हस्पिटालिटि पार्टनरमा होटल बाराहि र मिडिया पार्टनरमा समाधान दैनिकले बिग एफएमसँग सहकार्य गरिसकेका छन् । तिहारपछि शुरु हुने बिग आइकनको अडिसनका लागि हाल निशुल्क रुपमा फाराम वितरण भैरहेको छ ।
