मंसिर अन्तिम सातादेखि पोखरामा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र

Share:

पोखरा, ११ कार्तिक-
पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिरको अन्तिम साताबाट सुरु हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारेको छ । मेला कार्यसम्पादन समितिको विहीबार बसेको बैठकले मेलाको हालसम्म भएको कार्य सम्पादनको समीक्षा गर्दै मेला तयारीलाई व्यवस्थित र तीव्र बनाउने निर्णय गरेको हो ।
संघका तथा मेला कार्य सम्पादन समितिका कार्यवाहक अध्यक्ष रवीन्द्रबहादुर प्रजुको अध्यक्षतामा बसेको बैठकमा मेला सम्पन्न गर्न गठित विभिन्न २८ वटा उपसमितिका संयोजकहरुले आफ्नो उपसमितिले सम्पादन गरेका कामहरुबारे जानकारी दिएका थिए । उपसमितिको कार्य प्रगतिबारे जानकारी लिए पछि संघका कार्यवाहक अध्यक्ष प्रजुले तिहार लगत्तै आफ्नो कामलाई अझ तिव्रता दिन उपसमितिका संयोजकहरुलाई आग्रह गरे । राष्ट्रिय औद्योगिक व्यापार मेला संघको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै उनले मेलालाई पोखराको गौरवको रुपमा विकास गर्नु पर्नेमा जोड दिए । स्थानीय उत्पादनको बजारिकरण र प्रवद्र्धन, नयाँ उत्पादनहरुको जानकारी एवं समग्र पश्चिमाञ्चल एवं नेपालमा भएका उत्पादनहरुको बिक्री वितरण समेत गर्ने उदेश्यले आयोजना गरिन लागेको मेलालाई भव्य बनाउन कुनै कसर बाँकी नराखिने उनले बताए ।
आउँदो मंसिरको २३ गतेदेखि पुसको ४ गतेसम्म पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला,२०७३ को आयोजना हुँदैछ । मेला सम्पन्न गर्नको लागि संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा मूल समारोह समिति तथा कार्य सम्पादन समिति गठन गरिएको छ । यसैगरी मेलालाई भव्य र सभ्य रुपले सम्पन्न गर्नको लागि विभिन्न २८ वटा उपसमिति पनि गठन गरिएको छ ।

-फाईल तस्विर

कमेन्ट गर्नुहोस्
Share: