
पोखरा, ४ मंसिर-
विश्वकै सबैभन्दा ठूलो बुद्ध थान्का आज र भोली पोखरामा प्रदर्शन गरिँदैछ । नेपाल—जापान सम्बन्धको ६० औं वर्षगाँठको अवसरमा मंसिर ४ र ५ गते पोखरा रंगशालामा आयोजना गरिने थान्का प्रदर्शन गर्न लागिएको हो ।
विश्वकै सबैभन्दा ठूलो सत्तरी मिटर लामो र ५० मिटर चौंडाई भएको द आर्ट अफ प्याचवर्क (कपडालाई काटेर टालेको) थान्का निर्माण भएको पोखरामा थान्का प्रदर्शन मूल आयोजक समितिका संयोजक पानबहादुर घर्तीले जानकारी दिए ।
थान्का पोखरा रंगशालाको खेल मैदानमै पूर्व—पश्चिमबाट हेर्न मिल्नेगरी राखिएको छ ।
शनिबार मध्याह्न १२ बजेदेखी प्रदर्शनी खुल्ला हुनेछ । त्यसअघी पूर्वाह्न १० बजे लखनचोकबाट लामा गुरुहरुको नेतृत्वमा बाजागाजा सहितको र्याली निकालिएको छ ।
थान्का प्रदर्शनीको उद्घाटन हेम्जा गुम्बाका प्रमुख तथा काहुँमा बन्न लागेको यशोधरा वाटीकाका प्रमुख स्याङपा रिम्पोछेबाट बौद्ध संस्कृति अनुसार विधिपूर्वक पूजा गरेर गरिनेछ । सो अवसरमा नेपाल र जापानको झण्डा प्रदर्शन गरिने छ ।
उद्घाटन कार्यक्रममा लामा गुरुसहित सहभागिहरुले थान्कालाई चारैतिरबाट छोएर विश्व शान्तिको कामना गर्दै मन्त्रोच्चारण गरिने उनले बताए ।
