
बुटवल, ४ मङ्सिर–
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैको पनि स्वार्थ पूरा गर्न संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
उनले नेकपा (एमाले) ले संविधानको कार्यान्वयनको नेतृत्व गर्नेसमेत बताए । उनले भने–“कार्यान्वयनका क्रममा अप्ठेरो आएमात्र संविधान संशोधनको विषय उठ्न सक्छ, कार्यान्वयन नहुँदै जनताको भावनाविपरीत एमालेले स्वीकार गर्दैन ।”
नेकपा (एमाले) ५ नम्बर प्रदेश कमिटीले आज बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधनको माग नेपालीको नभएको जिकिर गर्दै उनले अरु कसैको मागलाई जनताले स्वीकार नगर्ने बताए ।
अहिले मुलुकको कार्यभार संविधान कार्यान्वयन गरी निर्वाचन गर्नु रहेकाले अन्य कुरामा नअल्झिन कार्यकर्तालाई उनले आग्रह गरे । भारतमै समेत कतिपय प्रदेश तराई र पहाड मिलेर बनेको उदाहरण दिँदै अध्यक्ष ओलीले तर नेपालमा तराईलाई पहाडसँग मिसाउनै हुँदैन भन्ने माग अनुचित रहेको उल्लेख गरे ।
उनले अन्यत्र असफल भएपछि ५ नम्बर प्रदेशलाई तराई र पहाड टुक्र्याएर अलग गराउने कोसिस भइरहेको उल्लेख गर्दै उनले यो माग कसले, किन र के उद्देश्यले राखेको हो भनी प्रश्न गरे । उनले भने–“५ नम्बर प्रदेशका जनताले यो विषय उठाएकै छैनन्, जनताको भावनाविपरीत हुनेगरी त्यसखालको प्रस्ताव आए एमाले विपक्षमा उभिन्छ ।”
उहाँले अङ्गीकृत नागरिकता लिएका व्यक्तिलाई संवैधानिक पदमा पुर्याउने गरी संविधान संशोधन गर्न नसकिने बताए । नागरिकताको विषयमा संसारमै कहीँ नभएको खुकुलो प्रावधान नेपालमा रहेको भन्दै ओलीले यसलाई बरु सच्याउनुपर्नेमा झन खुकुलो बनाउने गरी नियोजित षड्यन्त्र रचिएको दाबी गरे ।
