​२१ वर्षपछि सांसदको तलब भत्तामा वृद्धि, अब सवा लाख तलबभत्ता पाउने

Share:

काठमाडौं, ५ मंसिर–
२१ वर्षपछि सांसदको तलब भत्ता बढेको छ । संसदबाट आइतबार संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक संशोधनसहित पारित भएसँगै सांसदहरुले पाउने तलब भत्ता बढेको हो ।
सांसदहरुले भत्ता बाहेक यसअघि ५४ हजार रुपैयाँ तलब सुविधा पाउँदै आएकोमा अब बढेर प्रति महिना ७८ हजार २ सय ३० रुपैयाँ पुगेको । यसमा तलबबापत ५५ हजार २ सय ३० रुपैयाँ, घरभाडा १८ हजार रुपैयाँ, सञ्चार खर्चबापत ३ हजार रुपैयाँ र पानी र बिजुली बापत २ हजार रुपैयाँ समावेश छ ।
यसबाहेक सांसदहरुले बैठक बसेको दिन बैठक भत्ता १ हजार रुपैयाँ र एक हजार रुपैयाँ गाडी भाडा गरेर दैनिक २ हजार रुपैयाँ पाउने छन् । बैठक भत्ता ५ गुणाले बढाएर दुई सयबाट एक हजार पुर्‍याइएको हो । १० भन्दा बढी सांसद भएका दलका प्रमुख सचेतकलाई गाडी सुविधा थपिएको छ ।
यस बाहेक सांसदले अधिकृत सहर सेवा पाउने गरी एक जना स्वकीय सचिव राख्न पाउनेछन् । यसअघि सांसदहरुले पारिश्रमिक बापत ४४ हजार १ सय ८० रुपैयाँ घरभाडा बापत ६ हजार ५ सय रुपैयाँ, सञ्चार खर्च २३ सय, पानी र बिजुली खर्चबापत १२ सय ४८ रुपैयाँ गरेर ५४ हजार २ सय २८ रुपैयाँ बुझ्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: