पोखरामा औद्योगिक व्यापार मेला जारी, शनिबार बर्षा राउत र मुन्द्रेको प्रस्तुती

Share:

पोखरा, २४ मंसिर-
राष्ट्रिय औद्योगिक व्यापार मेला, २०७३, पोखराप्रति आम पोखरेलीले देखाएको सदासयताले आयोजकहरु हौसिएका छन् । मेलाको दोस्रो दिन शुक्रबारदेखि नै मेला आयोजना स्थलमा देखिएको बाक्लो उपस्थितिले उनीहरुलाई हौस्याएको हो ।
‘सुरुको दिनदेखि नै हामीले मेलाप्रति आम पोखरेलीको सकारात्मक प्रतिक्रिया पाएका छौँ’,आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले भने,‘ मेलामा सहभागि स्टल, साजसज्जा र मेलाको व्यवस्थापनप्रति अवलोकनकर्ताको चासोले हामी उत्साहित छौँ ।’
उहाँले मेला अगाडि बढ्दै गर्दा आम पोखरेलीबाट सकारात्मक सहयोग र सुझाव प्राप्त हुने अपेक्षा पनि गर्नुभयो । यता यस पटकको मेलाको सुरुबाटै अटोका स्टलहरुमा समेत आम सर्वसाधारणको उल्लेख्य चासो बढेको छ । उता मेलाका प्रायोजक तथा सहयोगी संघ/संस्थाहरु पनि मेलाको व्यवस्थापनप्रति सन्तुष्ट भएको संघका वरिष्ठ उपाध्यक्ष तथा प्रायोजक व्यवस्थापन उपसमितिका संयोजक रवीन्द्रबहादुर प्रजुले बताए । ‘अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्वमा रहेको मूल आयोजक समिति तथा कार्यसम्पादन समितिको सक्रियतालाई हामी मेलाको अन्तिम दिनसम्म पनि कायमै राख्छौँ र मेलालाई भव्य बनाउँछौँ ।’–वरिष्ठ उपाध्यक्ष प्रजुले थपे ।
संघका कोषाध्यक्ष तथा मेलाका साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिका अनुसार मेलाअन्तर्गत शनिबार संघको साँस्कृतिका कार्यक्रममा यसै वर्षदेखि समावेश गरिएको पिसिसिआई गायन ताराको नियमित क्वालिफाइड राउण्डसहित विद्यालयस्तरीय सामुहिक तथा एकल नृत्य प्रतियोगिता, दोहोरी गीततर्फ ज्योति मगर, शंकर विरही गुरुङ, हाँस्य कलाकारतर्फ जितु नेपाल मुन्द्रेका साथमा नेपाली सिनेमा नायिका वर्षा राउत, पपतर्फ कालिप्रसाद बास्कोटा र रावण व्याण्डको प्रस्तुति रहनेछ ।

कमेन्ट गर्नुहोस्
Share: