संशोधन प्रस्तावप्रति मोर्चाले नरम नीति लिने

217
0
Share:

मंसिर २५ गते-
संविधान संशोधन प्रस्तावको स्वामित्व लिन अस्वीकार गर्दै आएको मधेसी मोर्चाले अब नरम नीति लिने भएको छ । शनिबार बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा बैठक गर्दै मोर्चा नेताहरूले आफूहरू संशोधन प्रस्ताव विरोधी भएको भनी बाहिर प्रचार भएकाले प्रस्ट पार्न आवश्यक परेको बताएका छन् ।
उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्ताव परिमार्जन हुन सक्ने भनी दिएको अभिव्यक्तिलाई समर्थनसमेत गरेका छन् । ‘प्रस्ताव आपसी छलफल र सहमतिका आधारमा परिमार्जन गरिए संशोधन प्रस्तावको पक्षमा मोर्चाले सहयोग गर्ने निर्णय गरेको छ,’ बैठकपछि जारी वक्तव्यमा उल्लेख छ, ‘कुनै पनि प्रस्तावलाई संसद्मा प्रस्तुत हुन नदिनु लोकतन्त्र र संसदीय अभ्यासको अपमान हो । यस्ता अलोकतान्त्रिक र निन्दनीय कार्य तत्काल रोक्नुपर्ने मोर्चाले ठहर गरेको छ ।’
बैठकमा सहभागी मधेसी जनअधिकार फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले प्रमुख प्रतिपक्षी एमालेले संशोधन प्रस्तावलाई मोर्चाले समेत स्वामित्व नलिएको भन्दै प्रचार गरिरहेकाले त्यसलाई चिर्ने निर्णय गरिएको बताए । मोर्चा संशोधन प्रस्तावको विरोधी नभएको भन्दै उनले परिमार्जनको आवश्यकता औंल्याइएको टिप्पणी गरे ।
प्रधानमन्त्री दाहालले प्रस्ताव फिर्ता नहुने, बरु परिमार्जन गर्न आफू तयार रहेको भनी दिएको अभिव्यक्तिलाई मोर्चा बैठकले सकारात्मक रूपमा लिएको छ । आपसी छलफल र सहमतिबाट प्रस्ताव परिमार्जन भए सघाउने निर्णय गरेको रामसपा महासचिव केशव झाले बताए । ‘हामी प्रस्तावको विरोधमा छौं भन्ने सन्देश बाहिर गएछ, तर परिमार्जन हुनुपर्छ । परिमार्जन गर्नेबारे प्रधानमन्त्रीको प्रतिबद्धता आउनु सकारात्मक हो भन्ने बैठकले ठहर गरेको छ,’ झाले भने ।
मोर्चालाई देखाएर प्रस्ताव अघि बढाउन ढिलाइ गरे अर्को बैठक बसी निर्णय लिने ठहर भएको पनि उनले बताए । प्रस्तावमा सामान्य फेरबदल गरिए मोर्चा संसदीय छलफलमा आउन तयार देखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: