
पोखरा, २९ मङ्सिर-
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आज जिल्ला विकास समिति कास्की, पोखरा उपमहानगरपालिका, उपमहानगरको वडा नं ७ को वडा कार्यालय र जिल्ला विकास समिति कास्कीले बनाउँदै गरेको पोखराको फिर्के खोलाको पुलको आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
जिल्ला विकास समिति कास्कीको अनुगमनपश्चात मन्त्री पाण्डेले जनताले विकासको प्रतिफल पाउने गरी काम अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिनुभयो । सामाजिक सुरक्षादेखि भूकम्पपीडितसम्मका काम प्राथमिकतामा राखेर गर्न आग्रह गर्दै मन्त्री पाण्डेले विकासका योजनालाई समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो ।
सरकार संविधान कार्यान्वयनको पक्षमा लागेको बताउँदै मन्त्री पाण्डेले स्थानीय तह पुनःसंरचना आयोगले प्रतिवेदन वुझाउनासाथ स्थानीय तहको निर्वाचनमा जुट्नुपर्ने भन्दै निर्वाचनको तयारीमा लाग्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
यसैगरी मन्त्री पाण्डेले आजै पोखरा उपमहानगरपालिका वडा नं ७ रत्नचोकमा रहेको वडा कार्यालयको उद्घाटन गर्दै जन्म, मृत्यु, विवाह, बसाइँसराइँ जस्ता पञ्जीकरणलाई व्यवस्थित गर्न निर्देशन दिनुभयो ।
वडा सचिव यशोदा बराल तिमिल्सेनाले मन्त्री पाण्डेलाई वडा कार्यालयबाट हुँदै आएका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
