
रञ्जन अधिकारी
पोखरा, २९ मंसिर-
सेवा सुविधा सहित चार बुँदे माग अघि सारेर सोमबारदेखि आन्दोलित बनेका पोखरास्थित गण्डकी मेडिकल कलेजका डाक्टरहरुले ओपिडी सेवा बन्द गरेका छन् । अस्पताल प्रशासनले आफ्ना मागप्रति चासो नदिएको भन्दै उनीहरुले ओपिडी बन्द गरेका हुन् ।
गण्डकी मेडिकल कलेज फ्याकल्टी एशोसियसनले बुधबार पत्रकार सम्मेलन गरी अस्पताल प्रशासनलाई शुक्रबारसम्मको अल्टिमेटम दिएका छन् । शुक्रबारसम्म पनि माग सम्बोधनमा गम्भिर नभए कडा संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।
विना कारण निकालिएको फ्याकल्टीहरुलाई तुरुन्त पुन बहाली गर्नुपर्ने, श्रम ऐन २०४८ अनुसार करारलाई स्थायी गर्नुपर्ने, समयसापेक्ष तलब बृद्धी गर्नुपर्ने र महिना सकिएपछि समयमा तलव उपलब्ध गराउनुपर्ने माग रहेको एशोसियसनका संयोजक डा. गोपी हिराचनले जनाए । सोमबार कालोपट्टी बाँधेर डाक्टरहरुको आन्दोलन सुरु भएको हो । अस्पतालमा कार्यरत डा. विवेक रञ्जीतकार र डा. विनम्र बस्नेतको केही समयअघि करार अवधी सकिएको थियो । दुवै जनाले विना सूचना करार अवधि सकिएको जानकारी दिएको भन्दै कुनै हालतमा पुनर्वहाली गर्नुपर्ने माग गरेका छन् । नियम विपरित सूचना नै नदिई एक महिना अघि सूचना दिनुपर्नेमा दुई महिनापछि मात्र तीन महिना करार थप गरिएको थाहा भएको डा. विनम्रले जनाए ।
डाक्टरहरुले प्रशासनबाट माग सम्बोधन गर्नुपर्नेमा उल्टै धम्क्याएको आरोप लगाएका छन् । बार्ताका लागि भनेर प्रशासनले मंगलबार बोलाएको थियो, संघर्षरत एशोसियसनका सचिव डा. तारा कोईरालाले भने–तर उल्टै धम्क्याएर पठाएका छन् । उनले धेरै पटक अस्थायी डाक्कटरका स्थायीका लागि आग्रह गरेपनि सुनुवाई नभएको गुनासो गरे । त्रिवि र नेपाल मेडिकल काउन्सिलका निरीक्षण टोली आउँदा अरु डाक्टर खडा गरेर संख्या पुराउने काम भएको भन्दै उनले जनशक्ति विना नै अस्पताल चलेको बताए ।
सदस्य डा. राजेन्द्र नेपालीका अनुसार अस्पताल प्रशासनले अन्य स्थानमा काम गरेको आरोप लगाउनु काउन्सिलको नियम विपरित भएको बताए । कम्पनीमा सेवा समयबाहेक अन्यत्र काम गर्न छुट रहेको भन्दै आफूहरु गण्डकी मेडिकल कलेजमा विहान ९ बजेदेखि ४ बजेसम्म पूर्ण समय काम गरेको जिकिर गरे ।
