
पोखरा, १ पुस-
विद्यार्थीहरुले खासमा के गर्छन् ? सहज उत्तर– पढ्छन् र ज्ञान आर्जन गर्छन् । ‘घोकन्ते विद्या, धावन्ते खेती’ भन्ने मान्यता राख्नेहरुले घोकेरै ‘सर्टिफिकेट’ बोक्छन् । तर,सिंगापुरको सिंगापुर म्यानेजमेण्ट कलेजको भने कुरा भिन्नै रहेछ । त्यहाँका विद्यार्थीहरु नेपाल आउँछन्, यहाँको स्कूलमा पढाउँछन्, पुस्तकालय बनाउँछन् र भित्ता रंग्याउँछन् । विद्यार्थीहरुलाई सामाजिक भावना जगाउन तथा समाजप्रतिको दायित्ववोध गराउन विश्वविद्यालयले तयार गरेको क्यालेण्डर अनुसार यो वर्ष कलेजका विद्यार्थीहरु कास्कीको अर्मला आए । अर्मला गाविसको छहरेपानीमा रहेको ज्ञानज्योति माविमा उनीहरुले दुई हप्ता बिताए । अघिल्ला वर्षमा जस्तै उनीहरुले स्कूल रंग्याए, पुस्तकालय बनाए अनि पुस्तकालयको लागि १ हजार अमेरिकी डलर पनि सहयोग गरे ।
‘हामीले यहाँका साना भाई बहिनीले राम्रो शिक्षा पाउन् भनेर पुस्तकालय बनायौँ, यहाँका विद्यार्थीलाई सूचना प्रविधीसँग जोड्नको लागि इन्टरनेट जोड्न सघायौँ अनि भित्तामा साना भाई बहिनीले बुझ्ने गरी गणित र विज्ञानका सूत्रहरु पनि को¥यौँ ।’– २२ जना विद्यार्थीको नेतृत्व गरेका टोली नेता निकोलासले भने । उनका अनुसार सिंगापुर म्यानेजमेण्ट कलेजका विद्यार्थीहरु सन् २००६ देखि नै पोखराको अर्मलाको विभिन्न विद्यालयमा आएर सहयोग गर्दै आई रहेका छन् । नमस्ते परियोजना नाम दिइएको सो अभियानअन्तर्गत हरेक वर्ष कलेजका विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमा नेपाल पठाउने गरिएको उनले जनाए ।
टोलीका उपनेता सानले ‘मुभिङ माउण्टेन’ भन्ने नाराका साथ नेपाल आउन पाउँदा आफूहरुलाई खुसी लागेको बताए । पोखरा उद्योग वाणिज्य संघले ती विद्यार्थीहरुलाई अर्मला लैजाने चाँजोपाँजो मिलाएको हो । केही वर्ष पहिला अर्मलालाई नमूना च्याम्बर भिलेज घोषणा गर्दै सो क्षेत्रको आर्थिक सम्वृद्धिको लागि काम गर्ने सिलसिलामा जोडिएको साइनो अहिलेसम्म पनि कायम रहँदै आएको छ । सिंगापुरबाट आएका विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य पदमप्रसाद सुवेदीसहितका टोलीले शुक्रबार भावपूर्ण बिदाई गरे । सिंगापुरबाट आएका तन्नेरी विद्यार्थीहरुले अर्मलाका साना नानीबाबुसँग अंकमाल गरे अनि अर्को वर्ष फेरि आउने वचनवद्धता व्यक्त गरे ।
सिंगापुरका विद्यार्थीहरुको विदाईको लागि आयोजित औपचारिक कार्यक्रमका प्रमुख अतिथी तथा पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले पोखरा उद्योग वाणिज्य संघ अर्र्मलाबीचको सम्बन्धलाई निरन्तरताकै रुपमा सिंगापुरका विद्यार्थी अर्मलामा आएकोमा खुसी व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको विकासको लागि संघले खेलेको भूमिकाको चर्चा गर्दै शिक्षाको विकासमा संघले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । विद्यालयका संचालक समितिका सदस्य केशवप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व प्रचार्य धर्मराज आचार्य लगायतले साना विद्यार्थीको लागि पुस्तकालय महत्वपूर्ण हुने बताए । विद्यालयमा झण्डै २ सय जना विद्यार्थी अध्ययनरत छन् ।
