युवा संघका रुपन्देही अध्यक्ष हत्याको विरोधमा पोखरामा विरोध, एक घण्टा चक्काजाम

Share:

पोखरा, ५ पुस-
युवासंघ रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएको विरोधमा युवा संघ कास्कीले पोखरामा सोमबार साझँ प्रदर्शन गरेको छ । तिवारीको हत्यारालाई कारवाहीको माग गर्दै युवा संघ कास्कीले पोखरामा मोटरसाईकलबाट प्रर्दशन गरेको छ ।

नयाँबजार स्थित पार्टी कार्यालयबाट सुरु भएको प्रर्दशन नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड हुदै सभागृहमा पुगेर टुङ्गिएको थियो । सहभागीले हत्यारा पत्ता लगाई कारवाहीको दायरामा ल्याउन माग गरे ।

युवा संघ नेपालले आन्दोलनको घोषणा समेत गरेको छ। घटना लगतै बसेको युवा संघको आकस्मिक बैठकले महासचिव किरण पौडेलको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ । बैठकले संघले मंगलवार लुम्बिनी बन्दको आहृवान गरेको छ भने देशभर १ देखि २ बजेसम्म चक्काजाम गर्ने निर्णय गरेको प्रवक्ता प्रभावविक्रम कटवालले जानकारी दिए ।

तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो । उनको रुपेन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: