कास्कीमा मात्रै १३ हजारभन्दा बढी भूकम्प पीडित

Share:

पोखरा, ६ पुस-
जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालय कास्कीले जिल्लामा भूकम्पका कारण प्रभावित १३ हजार एकसय पाँच घरपरिवारको लगत सङ्कलन गरी केन्द्रीय तथ्याङ्क विभागमा पठाएको छ ।

जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यक्रम संयोजक जग्गुलाल बस्यालका अनुसार सङ्कलित लगत केन्द्रीय तथ्याङ्क विभागबाट प्रमाणीकरण गरी भूकम्पपीडितको आधिकारिक सूची तयार गरिनेछ ।

राहत एवम् पुनःनिर्माण सहयोगका लागि सूचीका आधारमा यही पुस १३ गतेदेखि केन्द्रस्तरबाट खटिने तालिम प्राप्त इन्जिनियर र स्थानीय सामाजिक परिचालकको टोलीले स्थलगत अवलोकन गरी क्षतिका आधारमा बस्न हुनेदेखि पुनःनिर्माण गर्नुपर्नेसम्मका कुरा निक्र्यौल गर्नेछ ।

यसैबीच, भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरण, अनुदान सम्झौता लगायतका विषयमा छलफल गर्न जिल्ला समन्वय समिति, कास्कीको बैठक बसेको छ । बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सदस्य डा चन्द्रबहादुर श्रेष्ठ, सांसद शारदा पौडेल, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, स्थानीय विकास अधिकारी बलराम ढकाल लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा भूकम्पपीडितको लगत सङ्कलन लगायतका विषयमा जानकारी लिँदै प्राधिकरणका सदस्य डा श्रेष्ठले सङ्कलित लगत प्रमाणीकरण भइसकेपछिको पुनःनिर्माण कार्यविधिबारे जानकारी गराए ।

सांसद शारदा पौडेलले भूकम्पपीडित परिवारले यथाशक्य चाँडो पुनःनिर्माण लगायतमा सहयोग पाउने किसिमबाट कामलाई तीव्रता दिनुपर्ने धारणा राखिन् ।

कमेन्ट गर्नुहोस्
Share: