
काठमाडौँ, ७ पुस-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीले भ्रष्टाचार नियन्त्रण अभियानमा आफू निरन्तर लागिरहने बताएका छन् ।
निलम्बित प्रमुख आयुक्त कार्कीले आज प्रेस विज्ञप्तिमार्फत भ्रष्टाचार नियन्त्रणका क्रममा आफूले सामना गर्नुपरेको बाधा र व्यवधानले आफूलाई थप दृढ बनाएको छ भने ।
विज्ञप्तिमा आफू आफ्नो कर्तव्यप्रति सदा अविचलित रही जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहनेसमेत उल्लेख गरिएको छ ।
निलम्बित प्रमुख कार्कीले अख्तियार प्रमुखको कार्यभार सम्हालेयता आफ्नो भूमिकालाई सक्रिय, सशक्त, निष्पक्ष र पारदर्शी तुल्याउने दिशामा आफू केन्द्रित रहेको तथा भ्रष्टाचारको जालो सर्वत्र रहेकाले तलदेखि माथिसम्म सफाइका निम्ति निडरतापूर्वक अभियान चलाएको पनि विज्ञप्तिमा उल्लेख छ ।
