
पुस १० गते-
आज क्रिसमस पर्व, क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सवको दिन देशभरका गिर्जाघरमा क्रिसमस पर्वका अवसरमा विभिन्न कार्यक्रम गरी मनाईदैछ । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए । आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको उनका अनुयायीको भनाइ छ । येशुलाई जिसस क्राइष्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
नेपालमा पनि ४०० वर्षअघिदेखि नै क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजले जानकारी दिनुभयो । क्रिसमसको अवसर पारेर महासङ्घले आज दिउँसो राष्ट्रिय नाचघरमा विशेष महोत्सव कार्यक्रम राखेको जनाएको छ ।
“हाल नेपालमा आठ हजार ५०० गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी छन् । विसं २०६४ अघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस हाल सार्वजनिक स्थलमा पनि मनाउन थालिएको छ । क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ । ‘क्रिसमस ट्री’ लगायतका सजावटले बजार र ठूला व्यापारिक स्थलमा आकर्षण थपिने गर्छ । यो पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिइएको छ ।
