
तारा पौडेल
पोखरा, १२ पुस-
पोखरा १७ रातोपैह्रास्थित ओमकारेश्वर महादेव मन्दिरबाट तल नयाँ गुफा भेटिएको छ । ओमकारेश्वर महादेव मन्दिर समितीको अगुवाईमा ओमकारेश्वर महादेव मन्दिरमा भवन र बाटो निर्माण कार्यमा जुटेका स्थानियले सोमवार उक्त गुफा भेटेका हुन् ।
बाटो खन्दै गर्दा पहिलो पटक गुफा देखेका स्थानिय तथा ओकारेश्वर महादेव मन्दिर समितीको साधारण सदस्य नारायण के।सी।ले भने “सोमवार दिनको पौने २ वजे हामी १०/१२ जना स्थानियहरु बाटो खन्दै थियौं र मन्दिर तल म पनि बाटो खन्दै गएको थिए, एक्कासी बत्ती बलेको देखे, मेरो त आंगै सिरिङ्ग भयो ।”
उनले अगाडी भने- “बत्ती बलेको देखिसकेपछि आँखा चिम्लेर उभिए अनि फेरी आँखा खोलेर हेरेको त बत्ती बलिराखेको देखें । अनि मैले धैर्य गरेर भीरबाट फर्केर थीहरुलाई भने, अनि साथीहरु पनि पालैपालो गएर हेर्नुभयो, उहाँहरुले बत्ती बलेको देख्नुभएन रे मुर्ति देख्नुभएछ ।”
उनले अहिले सो क्षेत्रमा गुफा हेर्नेको भीड लागेको जानकारी दिए । बाँसले बाटोको छेउछाउमा छेकेर गुफासम्म जानको लागि व्यवस्था मिलाइएको उनले बताए । उनले भने- “अहिले लाईनमा बसेर गुफामा गएर पुजा गर्नेको भीड लागेको छ ।”
उनले बताएअनुसार बाटो बनाउने क्रममा पटक पटक जोगी आउने र एक दिन हरिहर गुफाको जोगी आएर ‘मुक्तिनाथमा मेरो साथीले भन्नुभएको यहाँ योग वसेको रे भीरभित्र गुफा छ’, भनेर भनेपछि स्थानियमा निकै कौतुहला छाएको थियो र भीरमा बाटो खन्दै जाने क्रममा गुफा भेटिएको हो ।
उनका अनुसार अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालयभन्दा ४ सय मिटर माथि रहेको ओमकारेश्वर महादेव मनिदरबाट ३ सय मिटर तल गण्डकी नुहाउन जाने भीरमा गुफा रहेको र सो गुफा १० फिट भित्र र ६ फिट चौडाई रहेको अनुमान गरिएको छ । गुफाको नाम ओमकारेश्वर गुफा नामाकरण गरिएको स्थानिय गणेश श्रेष्ठले जानकारी दिए ।
समितीले गत ३ महिना अघिदेखि ५० लाख रुपैयाँको योजनामा बाटो निर्माण र ७ कोठाको प्रवचन हल र पुजारी आवास भवन निर्माण कार्यको थालनी गरेको हो भने त्यसका लागि स्थानियले निःशुल्क श्रमदान गरीरहेका छन् ।





