पोखराको गण्डकी मेडिकल कलेज २१ दिनदेखि बन्द

Share:

पोखरा, १२ पुस-
पोखरास्थित गण्डकी मेडिकल कलेज २१ दिनदेखि बन्द रहेको छ । फ्याकल्टी डाक्टर एशोसियसनले ४ सूत्रीय माग राखी आन्दोलन गरेका कारण अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रम पूर्णरुपमा बन्द भएको हो। डाक्टरहरुले बिना कारण वर्खास्त गरिएका दुई चिकित्सकहरुलाई पुर्नबहाली गरिनुपर्ने, कलेजमा कार्यरत प्राध्यापकहरुलाई प्रचलित नियमअनुसार स्थायी गरिनुपर्ने, प्रत्येक दुई वर्षमा प्राध्यापकको तलब प्रचलित नियम र विगतका सम्झौता अनुसार वृद्धि हुनुपर्ने र समयमा तलब पाउनुपर्ने माग राखी आन्दोलन गरेका हुन् ।

आन्दोलनका कारण कलेजमा अध्ययनरत विद्यार्थीहरुको पढाई ठप्प भएको छ । मंसिर २८ गतेदेखि शिक्षण अस्पतालको ओपिडी बन्द भएका कारण उपचारका लागि आएका बिरामी फर्कन बाध्य भएका छन् । आन्दोलनका कारण तीन दिनपछि सुरु हुने एमबिबिएस अन्तिम वर्षका विद्यार्थीहरुको प्राक्टिकल परीक्षा प्रभावित हुने भएको छ  ।

कलेज सञ्चालक समिति अध्यक्ष खुमा अर्यालले पहिलो मागबाहेक अन्य माग पुरा गर्न कलेज व्यवस्थापन सकारात्मक रहेको बताए । ‘करार सम्झौता सकिएका डर्माटोलोजी र एनेस्थेसियाका दुई जना डाक्टरलाई उनीहरुको कार्यक्षमताका आधारमा म्यादथप गर्न नसकिएको हो’ उनले भने, ‘अन्य माग पुरा गर्न व्यवस्थापन सकारात्मक छ ।’

कमेन्ट गर्नुहोस्
Share: