
पुस १७ गते-
नेपाली चलचित्र ‘पुरानो डुंगा’ बेलायतका विभिन्न सिनेमा हलहरुमा समेत प्रदर्शन हुने भएको छ ।
लन्डन ह्यारोस्थित सफारी सिनेमा हलमा प्रिमियर शोपछि योर्क र वकिङमा प्रदर्शन भइसकेको यो चलचित्र जनवरी पहिलो साता ए ग्रेड सिनेमा हल ‘सिनेवर्ल्ड’ मा प्रदर्शन हुनेछ ।
फिल्म प्रदर्शनको जिम्मा लिएको इन्टरनेशनल नेपलिज फिल्म एकेडेमी यूकेले जनवरी ६ र ८ मा अल्डरसट, आसफोर्ड, फेल्थाम, ओटु ग्रीनवीच, वेम्ली, नोटिङहाम, स्वीन्डन, एवरडिन, एडिनबरा र म्यानचेस्टरमा प्रदर्शन हुने जानकारी दिएको छ ।
यसअघि एकेडेमीले ‘गाजलु’ सिनेवर्ल्डका दश बढि हलमा प्रदर्शन गरेको एकेडेमीका तर्फबाट प्रशान्त थापाले बताए ।
पत्रकार सम्मेलनमा फिल्मका निर्देशक रामबाबु गुरुङले चलचित्रले नेपालमा सोचेजस्तो व्यापार नगरेको स्वीकारे । ‘कमी कमजोरी पक्कै छन्, उनले भने, ‘समिक्षामा साथीहरुले विभिन्न राम्रा नराम्रा पक्ष औंल्याउनुभएको छ । तर, मैले यसअघिका कबड्डी, कबड्डी कबड्डी भन्दा पृथक धारमा चलचित्र बनाउने प्रयास गरेको हुं ।’
दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, माओत्से गुरुङ लगायतको अभिनय रहेको चलचित्रको गीत ‘निर जहिले रिसाउने…’ निकै चर्चित छ ।
कार्यक्रममा फिल्म निर्देशक, निर्माता तथा प्रदर्शक निरक पौडेलले पछिल्लो समय नेपाली चलचित्रको गुणस्तर वृद्धि भइरहेको जनाउँदै नेपाली फिल्म बेलायती हलमा प्रदर्शन हुनु शुभ संकेत भएको बताए ।
यस्तै, बिग एफएमका अध्यक्ष महेश भण्डारीले दर्शकका रुपमा प्रस्तुत हुँदै फिल्म हेरुन्जेल राम्रो लाग्ने बताए ।
एकेडेमीका तर्फबाट मोडल तथा कोरियोग्राफर बिना राईले सञ्चालन गरेको कार्यक्रममा निर्देशक गुरुङ, पौडेल, बीग आइकन साजन आले लगायतलाई आयोजकले सम्मान समेत गरेका थिए ।
